उद्यम

घरेलु सीप बजारमा नबिक्दा चिन्तित

इकागज |
माघ ११, २०७९ बुधबार १७:७ बजे

फाइल फोटो

बागलुङ - अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी हुन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन् । 

आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उनी  माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उनी गाउँ फर्किए । 


त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउँछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो ।

'हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सिप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन', सम्मरबहादुरले भने ।  पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उनले बताए । प्लास्टिकका सामग्रीको प्रयोग बढे्पछि आफ्नो सीप थला परेको उनको भनाइ छ ।

जंगलमा खेर गइरहेका काठ र बाँसको चोया आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामाग्रीहरु बनाउँदै आएका कैयौं व्यक्तिहरुको पेशा संकटमा परेको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागु हुन नसकेको स्थानीयको गुनासो छ । 

'काम गर भनेर रकम सहयोग गरेर मात्र हुँदैन, हामीले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरुको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ' तरकारी खेतीसँगै चोयाँका सामाग्री बनाउदै आएको मालिका गाउँपालिका–५ का सुनबहादुर बूढाले भने । हातमा अन्य काम गर्ने  सीप नभएका र उमेर बढी भएका जेष्ठ नागरिक आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन् । 

'आफूले जानेको सीपबाट गुजारा चलेको थियो, तर अहिले सीप पनि हेंला हुन थाल्यो, बुढ्यौली पनि लाग्यो', भकिम्लीका ६४ वर्षिय तेजबहादुर पुनले भने । पाँच वर्ष अघिसम्म दिनमा २ वटासम्म डोका बुन्ने गरेका पुन अहिले एक सातामा दुई/तीनवटा मात्र बुन्छन् ।  

केही वर्ष अघिसम्म हस्तकलाका सामाग्री बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्तिहरु अहिले आफूले बुनेका सामाग्री सिकुवा वा गोठमा थन्किएका बताउँछन् । सीप पुस्तान्तरण भएन भनेर चिन्ता भन्दा अहिलेको अवस्थामा सीप प्रयोगहिन भएकामा चिन्ता छ उनीहरूलाई ।

'हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु ? सामान  नै बिक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन, छोरा नातिलाई खाडीतिरै पठाउनुको विकल्प छैन्', बेनी नगरपालिका–२ का भीमबहादुर विकले भने । 

प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र परम्परागत सीपबाट सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसाय संकटमा परेको स्थानीय बताउँछन् ।


Author

थप समाचार
x