उद्यम

बालाजीको ‘बहुबली’ र ‘श्रृष्टि’ सिमेन्ट भारत निर्यात सुरु

इकागज |
जेठ २९, २०८० सोमबार १९:९ बजे

काठमाडौँ- नेपालमा उत्पादित सिमेन्ट भारत निर्यात सुरु गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित बालाजी सिमेन्ट इण्डष्ट्रिजले उत्पादन गरेको ‘बहुबली’ र ‘श्रृष्टि’ ब्राण्डका ४२ टन सिमेन्ट उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई निर्यात गरेको हो ।

बालाजी सिमेन्टका प्रबन्ध निर्देश ऋषिकेश अग्रवालले आज एक विज्ञप्ति जारी गरी पहिलो चरणमा आज (सोमबार) दुई ट्रक सिमेन्ट भारत निर्यात भएको जानकारी दिए । 'आज हामी ऐतिहासिक दिनमा छौं । लामो समयको प्रतीक्षापछि आज यस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ मा अवस्थित बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.बाट उत्पादित सिमेन्ट मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ हुँदैछ,' जारी विज्ञप्तिमा उल्लेख छ ।


भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इण्डियन स्ट्याण्डर्स इन्स्टिच्युट (आईएसआई) चिह्न दिए लगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबली र श्रृष्टिको भारतमा निर्यात भएको हो ।

बिस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको उद्योगले जनाएको छ । भारतमा आईएसआई चिह्न नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस चिह्न नभएका सिमेन्ट निर्यात गर्न पाइदैन ।

‘हामीले यसै महिना आईएसआई चिह्न पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हौँ । सरकारले सिमेन्ट छड लगायतका ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यसअघि नै गरिसकेको छ,’ विज्ञप्तिमा छ । 

नेपाल सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीहरूलाई धेरै राहत भएको कम्पनीले जनाएको छ ।

‘वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारततर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ,’ उद्योगका संस्थापक सन्दिपकुमार गाडियाले भने । 

‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोचसहितको थियो । सोच आज पूरा भएको छ, हामी सफल भएका छौं । सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ,’ उनले भने, ‘ हामी चाहन्छौं राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरू ल्याउनु जरुरी रहेको छ । आजको दिनमा निर्यातको वातावरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौं ।’

सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केही कम गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । 

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बहुबली र श्रृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी  सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्यूरो अफ इण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ ।

बालाजी सिमेन्ट इण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । जर्मनको यो प्रविधि सिमेन्ट उद्योगहरूका लागि विश्वकै उच्चस्तरीय कम्पनी हो ।

बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको छ ।


Author

थप समाचार
x