उद्यम

निजी क्षेत्रलाई निराश नहुन उद्योग मन्त्रीको आग्रह

इकागज |
असोज ४, २०८० बिहीबार २१:१ बजे

फाइल फोटो

नेपालगन्ज - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । 

बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासंघको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए । 


उनले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै  अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताए । 

नेपाल इँटा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्दले इँटा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँटाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिए । 

“स्वदेशको माग धानिरहेको इँटा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ”, उनले भने । 

अध्यक्ष चन्द इँटा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँटाको खपत हुन नसकेको बताए । 

करिब आठ प्रतिशत ब्याज लिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै उनले साँवा र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताए । 

नेपाल इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँटा व्यवसायीले चुनौती भोगिरहनुपरेको बताए । बाँकेमा ५० भन्दा बढी इँटा उद्योग दर्ता भएका छन् ।

जिल्लामा मात्रै वार्षिक २५ करोड इँटा उत्पादन हुने गरेको अनुमान छ । गत वर्ष १० देखि १२ करोडमात्रै इँटा उत्पादन भएको थियो । देशभर करिब एक हजार दुई सयको हाराहारीमा रहेका इँटा उद्योगबाट दुई सय ५० प्रतिनिधि साधरणसभामा सहभागी भएका थिए । रासस


Author

थप समाचार
x