उद्यम

पाँच दिने तिहार फ्लोरा एक्स्पोमा गोदावरी र सयपत्रीको माग

इकागज |
कात्तिक १८, २०८० शनिबार १६:२८ बजे

काठमाडौ -  भृकुटीमण्डपमा पांच दिनसम्म संचालन भएको, तिहार लक्षित फलफूल,नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिबार सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी ब्यवसायी संघले जनाएको छ ।

कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल ,नर्सरी ,जडीबुटी, मलखाद, बिउबिजन, औजार गमला लगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरुको स्टल राखिएको थियो ।


तिहार फ्लोरा एक्स्पोमा राखिएका स्टलहरुबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरुले फलफूल ,बिरुवा तथा औजारहरुको ब्यापार गरेको बताइएको छ । तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको ब्यवसायीले बताए । एकै ठाउँमा धेरै जातजातिका आउटडोर इन्डोर प्लान्टहरु छानी छानी पाइने भएकोले फूल बिरुवाका पारखीहरुको मेलामा भिड लागेको र आफूले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा ब्यवसायीहरुले खुसी व्यक्त गरेका थिए  ।

नर्सरी व्यवसायी संघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलो पटक गरेको तिहार फ्लोरा एक्स्पो सफल भएको बताएको छ । ब्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रवर्धन गर्न र उपभोक्ताको माग पूरा गर्न यस्ता मेलाहरुको आयोजना गरिरहने  एक्स्पोका संयोजक रबिन कुमार गौतमले बताए । 

 


Author

थप समाचार
x