उद्यम

मुख्यसचिवको अपिलः स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौं

इकागज |
पुस ७, २०८० शनिबार १८:१९ बजे

फाइल फोटो

काठमाडौँ - मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । 

स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने उनको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्ता नै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आम उपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवर्द्धन हुने बताए । उनले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मुख्यसचिव अर्यालले सरकार आफैंले उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको दोहोर्‍याए । 


उनले भने, ‘उद्योगीहरुले मात्रै गरेर हुँदैन । हामी उपभोक्ताहरूले पनि सँगसँगै साथ दिनुपर्छ । सरकारले उत्पादन र बजारीकरणलाई सहयोग गरिदिने हो । उत्पादनलाई बढाउनका लागि सरकारले पूर्वाधारको तर्फबाट केही गरिदिन सक्छ । सरकार फेरि आफैँ उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने पक्षमा छैन अहिले । विगतमा कुनै बेला त्यो पनि गरियो होला । तर उत्पादनका लागि चाहिने पूर्वाधारहरू हुन्छन् । कहिले भौतिक पूर्वाधारका कुरा होलान । कहिले काँही संस्थागत पूर्वाधार भनेको कानुनी पूर्वाधारको कुरा पनि होला । त्यो पाटोमा हामी भरपुर सहयोग गर्छौं । उत्पादन उहाँहरुले गर्नुहुन्छ । अनि सरकारबाट नहेरीकन एउटा उपभोक्ता म र एउटा उपभोक्ता यहाँहरु सबैले नेपाली वस्तुहरूलाई उपभोग गर्दै जाने बानी बसाल्नुभयो भने अनि हामी यसमा सफल हुन्छौं । होइन भने यसो स्वदेशीको लोगो, गैँडाको लोगो रहेछ भनेर चित्त बुझाएर मात्रै हुँदैन ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताए । उनले जुत्ता लगायतका वस्तुहरूमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुहरूको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरिएको बताए । 

अध्यक्ष अग्रवालले भने, ‘हाम्रो उद्देश्य हुन्छ कि सरकारले उत्पादनमा नै सर्पोटमा नै अलिकति सपोर्ट गरोस् । केही वस्तुहरूको उत्पादनमा हामी आत्मनिर्भर हुँदै गएका छौं । जुत्तामा पनि हामी आत्मनिर्भर उन्मुख नै छौं । केही जुस उद्योगहरूले निकासी पनि गरिराखेको छ ।’

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुको उत्पादन र बिक्री वितरणका लागि सरकारले उद्योगमैत्री नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । 


Author

थप समाचार
x