उद्यम

मौरी पालनबाट वार्षिक १२ लाखसम्‍म आम्दानी

जितेन्द्र थापा |
साउन ९, २०७८ शनिबार ८:४५ बजे

सुर्खेत - सेना–प्रहरीबाट अवकास भएपछि धेरैले सुरक्षा गार्डको जागिर रोज्‍छन्। यसैका लागि कतिपय विदेश हानिन्छन् । तर, वीरेन्द्रनगर–१२, पिपिराका अमरबहादुर तारामी मगरको हकमा यो कुरा लागू भएन । अवकासपछि उनले न सुरक्षा गार्डको जागिर रोजे न विदेश नै हानिए । बरु गाउँघरमै केही गर्ने योजना बनाए ।

सेनाको जमदार पदबाट अवकास भएपछि उनले मौरीपालन व्यवसाय थाले । ‘२०५८ सालमा पेन्सन पकाएर अवकास भएपछि योजना बनाउँदा-बनाउँदै दुई वर्ष बित्यो,’ अमरले भने, ‘सबै व्यावसायको विषयमा अध्ययन गरेँ । कर्णालीमा मौरीपालन व्यवसाय सजिलो, नाफा पनि हुने र यसको भविष्य पनि राम्रोे देखेपछि २०६० सालबाट कामको सुरुवात गरेँ ।’ 


उनले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । हिमालयन मौरीपालन उद्योग समेत सञ्चालन गरेका छन् । पाँच हजार रुपैयाँको लगानीमा एक घार मौरीबाट व्यवसाय सुरुवात गरेको बताउने मगर अहिले वार्षिक १२ लाखसम्मको आम्दानी हुने गरेको बताउँछन् । 

‘एक घार भेरी सामुदायिक वन उपभोक्ता समूह र एक घार आफनै लगानीबाट सुरु गरेको थिएँ,’ उनले भने, ‘तिनै दुई घार मौरीले एक वर्षमा ३० घार मौरी बनाएँ र एक घार समूहमै फिर्ता गरेँ । अहिले एक सय घारभन्दा धेरै मौरी भएका छन् । वार्षिक १० देखि ११ लाखसम्म आम्दानी हुन्छ।’

मौरीपालन व्यवसायको सम्भावना 
कर्णालीको प्राकृतिक सौन्दर्यता र विभिन्न जडिबुटीका कारण पनि यहाँ मौरीपालन व्यावसायको थुप्रै सम्भावना रहेको उनी बताउँछन् । मौरीपालनलाई व्यवसायिक बनाउन सरकारी स्तरबाट विशेष पहल हुनुपर्ने उनको भनाइ छ । तर, सरकारले कुनै चासो नदिएको उनको गुनासो छ । आफूले कतैबाट अनुदानसमेत नपाएको उनले बताए ।


Author

थप समाचार
x