उद्यम

७० प्रतिशतले पूर्ण मात्रा खोप लगाउँदा पनि व्यवसाय सञ्‍चालनमा किन राेकटाेक ?

'व्यवसायीलाई समय तोकेर विस्तारै खुला गर्न दिन्छौ'

अतिन आचार्य |
माघ २३, २०७८ आइतबार १५:३७ बजे

काठमाडौँ- नेपालमा कोभिडविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष भइसकेको छ । हालसम्म १८ वर्षमाथि उमेर समूहका ७० प्रतिशत मानिसले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा खोप लगाइएका छन् । अतिरिक्त खोप ६ लाख ३ हजार ४०८ जनाले लगाएका छन् ।


सरकारले पछिल्लो समय खोप अभियानलाई निरन्तरता दिइरहेको छ । ओमिक्रोनको भेरियन्ट देखा परेसँगै खोप अभियानलाई तीव्रता दिएको छ । तर, खोप अभियान बढेसँगै संक्रमितको संख्या बढेसँगै र निश्‍चित क्षेत्र बन्द भयो ।

केही दिनदेखि यता देशभर संक्रमणदर ओरालो लागिरहेको छ । संक्रमण घटेसँगै देशभर सक्रिय संक्रमित पनि घट्दै गएको छ । पहिलो र दोस्रो लहरको जस्तो संक्रमित गम्भीर नभएकाले यसपटक अस्पतालमा भर्ना हुनेको संख्या एकदम न्यून रहेको छ ।

विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्याले कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाइ पनि दिएको छ । लक्ष्यअनुसार खोप अभियानअघि बढिरहँदा केही व्यवसायीक क्षेत्र भने बन्द छ ।

देशभरका विभिन्‍न चोक-चोकमा भिडभाड अहिले पनि उत्तिकै छ। स्वास्थ्यको मापदण्ड अपनाएर प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग उठ्दै आइरहेको छ । सीसीएमसीको सिफारिसमा सरकारले सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू र सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, विद्यालय,कलेज, विश्‍वविद्यालय फिल्म हल, नाचघर, दोहोरी साँझ, क्लब र जिम क्लब बन्द भएका छन् । यद्यपि सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटिसकेको छ । उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनको भने हटेको छैन ।

कोभिडविरुद्धको खोप ७० प्रतिशत मानिसले पाइसकेकाले व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीले माग गरेका छन् । उनीहरूले जनस्वास्थ्यको मापदण्ड पालना गराएर र खोप कार्ड भएकालाई सेवा प्रदान गर्ने समेत जनाएका छन् ।

उपत्यकामा सबैभन्दा बढी मानिसले खोप लगाएका छन् । २५ जना भन्दा बढी भेला भएर हुने व्यवशाय पनि काठमाडौँमा छन् । तर, अधिकांश मानिसले खोप पाइसक्दा निर्धक्क व्यवसाय सञ्‍चालन नहुँदा व्यवसायीहरू मारमा परेका छन् ।

'खोप उपलब्ध गराएर,व्यवसाय सञ्‍चालन गर्न दिनुपर्छ'

सबैलाई खोप लगाइदिएर देशभरका उद्योग तथा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेल पर्यटन परिषद्का उपाध्यक्ष राजुमान डंगोल बताउँछन् ।' पर्यटकीय क्षेत्रमा चहलपहल शून्य भइरहेको छ,'डंगोलले भने,'सबैलाई खोप लगाइदिनुपर्छ तर, यसभन्दा अघि लकडाउनको कारण थलिएको व्यापार बन्द गर्दा झन असर परिरहेको।'

स्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने डंगोलले बताए । सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेर प्रवेश दिनुपर्ने उनले धारणा राखे । व्यवसाय बन्द गरेर झन-झन मार्का थपिँदै जाने उनको भनाइ छ ।

'बन्द भइरहदा कर्मचारीलाई नियमित तलब दिनलाई गाह्रो भइरहेको छ,' उनले सुनाए,' स्वास्थ्यको मापदण्डलाई पहिलो प्राथमिकतामा राखी सबैले काम गर्नुपर्छ । कोभिडबाट सुरक्षित रहन मुख्य खोप सबैलाई उपलब्ध गराउनुपर्छ । '

जोर-बिजोर प्रणालीले कार्यालयमा काम गर्न कर्मचारीलाई असर गरिरहेको डंगोलको भनाइ छ । सवारीसाधनमा भीडभाड र सामाजिक दूरी कायम नहुने तर, व्यवसाय सञ्चालन गर्न नदिनु अन्याय भइरहेको उनले बताए ।

'खोप अभियान बढाएर सेवा विस्तारै बढाउनु पर्छ'

नागरिकलाई खोपको मात्रा बढाएर नागरिकको जीवन सहज बनाउन विस्तारै-विस्तारै खुला गर्दै जानुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् ।

'सधैँभरी बन्द गरेर पनि हुँदैन; नागरिक आफैँ सचेत भएर स्वास्थ्यको मापदण्ड पालना गरिनुपर्छ,'उनले भने,' धेरै भन्दा धेरै मानिसलाई खोपको पहुँचमा पुर्‍याउनुपर्छ । खोपको मात्रा पूरा गरिसकेकालाई बुस्टर डोज दिनुपर्छ ।'

मानिसले सामाजिक दूरी कायम गर्दैनन् र ओहोर-दोहोर बढी हुने भएकाले संक्रमण सर्ने बढी जोखिम बढिरहेको उनले बताए । 'दैनिक देशभर १ हजार मानिस कन्ट्रयाक्ट ट्रेसिङमा पर्ने गरेका छन,' राजभण्डारीले भने,' परीक्षणको दायरा बढाउनु पर्छ । लक्षण देखिएमा परीक्षण गर्ने र नदेखिएमा आइसोलेसनमा बस्नुपर्छ ।'

जोरबिजोर प्रणााली हटाउन सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रकी प्रवक्ता सुनिता नेपालले जोरबिजोर प्रणाली हटाउन उपत्यकाका जिल्ला प्रशासनका कार्यालयलाई सिफारिस गरेको बताइन् । पछिल्लो समय संक्रमणदर कम भएकाले केही खुकुलो पार्दै लैजाने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएकाे उनले जानकारी दिइन् ।

रात्रीकालीन व्यवसाय सञ्चालन गर्न समय तोकिने उनले प्रष्ट पारिन् । अन्य गतिविधिहरू भने यसअघि जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अनुसार हुने नेपालले बताइन । 'फागुनको पहिलो सातादेखि सञ्चालन गर्नलाई सिफारिस गरिन्छ,' उनले भनिन् ।

'सिसिएमसीको निर्णयलाई मान्छौ'

त्यसैगरी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सीसीएमसीको सिफारिसअनुसार निर्णय गरिने बताइन् । 'उपत्यकामा संक्रमणदर घट्दै गएकाले केही खुकुलो पार्ने सोचाइ बनाइएको छ,' उनले भनिन्,' तर,अहिले यो-यो क्षेत्र खुला गर्ने भनेर छलफल भइसकेको छैन ।'

उनले अन्य व्यवसाय सञ्चालन गर्न अनुमति दिने या नदिने त्यस विषयमा छलफल भइरहेको बताइन् । खोप कार्ड अनिवार्य गरेर र निश्‍चित स्वास्थ्य मापदण्ड पालना गरी नयाँ मापदण्ड लागू गराउन निर्देशन दिन सक्‍ने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x