फेसन

फिल्म छाडेर ब्युटी कन्टेस्टमा रमाउँदै सलिन

इकागज |
साउन ३, २०७९ मंगलबार १३:१० बजे

काठमाडौँ - पहिलो फिल्म ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका सलिनमान बानियाँले पहिलो फिल्मबाटै सफलता पाए । साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी बनेर अभिनय गरेका उनलाई धेरैले अनमोल केसीको विकल्पको रुपमा पनि हेरेका थिए । तर यो फिल्मपछि पाएका एकसेएक अफर लत्याउँदै उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’मा काम गर्ने निधो गरे ।

अनमोलको ‘ए मेरो हजुर ३’सँग जुध्न पुगेको यो फिल्म बक्स अफिसमा नराम्ररी असफल हुन पुग्यो । सलिनले तेस्रो फिल्म गर्ने हिम्मत नै जुटाउन सकेनन् । सलिन फिल्म छाडेर अनलाइन पसल चलाउने लागे । उनले आफ्नै ब्रान्डबाट कपडा बेच्न सुरु गरेका थिए । 


त्यसयता पनि उनलाई लिएर फिल्म बनाउन चाहानेको कुनै कमी छैन । तर सलिन फिल्म छाडेर ब्युटी कन्टेस्टको जज बन्नमा रमाइरहेका छन् । फिल्मी दुनियाँबाट टाढा रहेका सलिनमान हिजो आज ‘मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल’को एक निर्णायकको रुपमा प्रतियोगी छान्ने काम गरिरहेका छन् । अहिले यो प्रतियोगिताको धमाधम अडिसन चलिरहेको छ । 

त्यसो त सौन्दर्य प्रतियोगितामा निर्णायक बन्नु सलिनमानले गर्न नहुने काम होइन । तर फिल्मको प्रस्ताव लिएर जानेलाई ‘नाइँ’ भनेर सौन्दर्य प्रतियोगितामा रमाउने सलिनको बानी देखेर केही निर्माता भने चकित छन् । आखिर ग्ल्यामरको मोहले नछाडेको हो भने सौन्दर्य प्रतियोगिताभन्दा त फिल्म खेल्ने अप्सन नै सही हो नी , हैन र ?


Author

थप समाचार
x