फेसन

बन्‍ने हैन त ‘मिस युनिभर्स नेपाल ’ ?

इकागज |
साउन १२, २०८० शुक्रबार ९:४५ बजे

काठमाडौँ -  उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ ।  काठमाडौंको पर्यटन बोर्डमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस युनिभर्स फ्रेन्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो । कार्यक्रममा उमंगा क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी र राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले विश्वभर आफ्नो खुबी प्रस्तुत गर्ने नयाँ अवसर आएको बताएका थिए ।

‘मिस युनिभर्स नेपाल’मा सहभागी हुन चाहने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन । यस्तै, यो प्रतियोगितामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन् ।


‘मिस युनिभर्स नेपाल २०२३’को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस युनिभर्सको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरी आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

यो प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुले जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन् । ४ अगष्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ । यस्तै, १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ । मिस युनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ । सेप्टेम्बर ८ मा ‘मिस युनिभर्स नेपाल २०२३’को घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन् । विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगिताको ताज जित्ने अवसर पाउनेछन् ।

मुख्य उपाधिसँगै ‘मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल ब्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस’ विधामा पनि प्रतियोगीहरुलाई पुरस्कृत गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् । 


Author

थप समाचार
x