जात्रा-पर्व

होली पर्व

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए शुभकामना

इकागज |
फागुन २२, २०७९ सोमबार ६:५९ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । 


“नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, शुभकामना सन्देशमा भनिएको छ, “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।”

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

प्रधानमन्त्रीको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।  

शुभकामना सन्देशमा भनिएको छ, “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने सन्देशमा उल्लेख छ । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत अभिप्रेरित गर्ने सन्देशमा छ ।

सभामुखको शुभकामना सन्देश
सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् । 

“होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ, “यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।”

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ”, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।

 “विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो”, सन्देशमा भनिएको छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।
 


Author

थप समाचार
x