जात्रा-पर्व

एक महिने गुँला पर्व सुरु, के-के गरिन्छ याे पर्वमा ?

इकागज |
साउन ३२, २०८० बिहीबार ९:११ बजे

काठमाडौं– नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । 

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट सुुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ ।


गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुगेका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व रहेको बताए । उनले हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताए । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज


Author

थप समाचार
x