जात्रा-पर्व

इन्द्र जात्राको अवसरमा नेपालभाषाको गीत प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

इकागज |
भदौ ८, २०८० शुक्रबार २१:३७ बजे

पाटन- इन्द्र जात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिए । उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ । 

कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए । प्रतियोगितामा नेपालभरिका कलाकारहरूले भाग लिन सक्ने छन् । 'जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्,'  वडा अध्यक्ष शाक्यले भने ।  


प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ । त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

चौथो स्थानमा पर्नेले सान्त्वना स्वरूप २५  हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट संगीतकार र रचनाकारले समेत जनही २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

सबै उमेर समूहका व्यक्ति वा समूहले भाग लिन पाउने उक्त प्रतियोगितामा समावेश हुने नेपालभाषाको गीत ३ देखि ५ मिनेटसम्मको हुनुपर्ने नियम रहेको छ । रासस


Author

थप समाचार
x