जात्रा-पर्व

वसन्तपुर क्षेत्रमा निकालियाे गाईजात्रा

इकागज |
भदौ १४, २०८० बिहीबार १५:५ बजे

काठमाडौँ- परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ ।

सो अवसरमा काठमाडौँको वसन्तपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ । गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरु भएको हो ।


यो समुदायका मानिसहरू दिवंगत आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने गर्छन् । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरू वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेकी हुन् । उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।

राजा मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

गाईजात्रामै विभिन्न प्रहसन तथा हास्यव्यंग्यात्मक कार्यक्रम गरेर मनाउने गरिएको छ ।


Author

थप समाचार
x