जात्रा-पर्व

नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरियाे

इकागज |
कात्तिक ६, २०८० सोमबार १५:१० बजे

काठमाडौँ- ​नवरात्र दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।


नवरात्रका आठ दिनसम्म शैलपुत्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी देवीको पूजा आराधना गरेपछि आज नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यी देवीबाट सबै प्रकारका सिद्धि पाइने धार्मिक विश्वास छ । मुक्त हुन चाहनेहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ ।

सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ । 


Author

थप समाचार
x