जात्रा-पर्व

विराटनगरमा छठका लागि किनमेल गर्नेहरूको भिड (फोटो फिचर)

बाबुराम भण्डारी |
मंसिर २, २०८० शनिबार १६:५८ बजे

विराटनगर- पछिल्ला वर्षहरूमा पहाडलाई समेत जोड्दै लगेको हिन्दु धर्मावलम्बीहरूको पर्व छठको दोस्रो दिन आज खरना व्रत । सूर्य आराधनासँग सम्बन्धित यस पर्व मनाउन चाहिने सामग्रीहरूको किनमेल गर्न विराटनगरका बजारमा मानिसहरूको भिड लागेको छ ।


भक्तजनहरूले भोलि आइतबार साँझ विराटनगरका नदी, नहर र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् । सूर्य उपासनाका लागि नदी, नहर र तलाउ किनारमा घाटहरू निर्माण भइसकेका छन् । व्रतालुहरूले भोलि घाटमा पुगेर पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने छन् ।

त्यसअघि नै आवश्यक सामग्रीहरू जोहो गर्न उनीहरू हाटबजारमा किनमेलमा व्यस्त भएका हुन् । उनीहरूले छठको प्रसादका रूपमा प्रयोग हुने उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, कसार, कागती र अदुवा लगायत फलफूल खरिद गर्दैछन् । साथै महिलाहरूले सूर्य उपासनाका अवसरमा लगाउने नयाँ सारीसहित श्रृंगारका सामग्रीहरू बिक्री हुने पसलहरूमा भीडभाड लागेको हो ।

विराटनगर महानगरपालिका–९ गुद्री लाइनमा हजारौं मानिसहरू छठका लागि आवश्यक सामग्रीहरू किनमेलमा व्यक्त देखिएका छन् ।

विराटनगरको पूर्वतर्फ सिंघीया खोला तथा पश्चिममा सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर, केशलिया खोला र बूढी खोलामा छठ पर्वका लागि घाटहरू निर्माण गरिएका छन् ।

आज खरना व्रतको दिन ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवासहितका परिकार पकाएर भोलि घुँडासम्म डुबेर सूर्यलाई अर्घ्यसँगै चढाउने चलन रहेको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य  दिएपछि प्रसाद ग्रहणसँगै छठ पर्व सकिन्छ ।

मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिकै जाँगरका साथ मनाउन थालिएको छ । तराईमा मैथिली भाषीसहित हिन्दु धर्मावलम्बीहरूले श्रद्धाका साथ छठ पर्व मनाउँदै आएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x