अर्थ / बाणिज्य

मुख्यसचिवसँग अर्थसचिवले भनेका थिए 'शर्मा भएसम्म मन्त्रालय जान सक्दिनँ मलाई अन्तै सरुवा गरिदिनू'

इकागज |
असार २२, २०७९ बुधबार १२:६ बजे

काठमाडौँ- अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी मुख्यसचिव शंकरदास बैरागीलाई जानकारी गराएर बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराए अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेपछि रुष्ट रहेका अर्थसचिव मरासिनी बिदामा बसेका हुन् ।

'अर्थमन्त्रीसँग काम गर्न सक्दिन भन्दै मुख्यसचिवलाई जानकारी दिएर अर्थसचिव मरासिनी बिदामा बस्‍नु भएको हो 'मन्त्रिपरिषद्‌ कार्यालयका एक सचिवले भने 'आफूलाई अर्थमन्त्रालयमा नराख्दा ठीक हुन्छ । उहाँ (जनार्दन शर्मा) भएसम्म जान सक्दिन अन्य सरुवा गरिदिनु भन्‍नुभएको छ ।' अहिले मुख्यसचिवकहाँ मन्त्रिपरिषद्‌का सचिवालयका सचिवहरूको छलफल चलिरहेको छ ।


'अर्थमन्त्रालयमा नहुनुपर्ने कुरा धेरै भयो मैले थेग्‍न सक्‍ने अवस्था भएन' उनले मुख्यसचिवसँग भनेका थिए । मरासिनीले हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रालय वस्तु स्थितिबारे जानकारी गराएका थिए ।

तर अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नु भएको छ,’ उनले भने ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् । मरासिनी मोबाइल अफ गरेर सम्पर्कबाहिर छन् । 

र, यो पनि


Author

थप समाचार
x