अर्थ / बाणिज्य

चिनी उद्योग बन्द हुनथालेपछि उत्पादन घट्यो

६५ हजार ३१९ टन चिनी उत्पादन, ८४ लाख ८६ हजार क्विन्टल उखु क्रसिङ

इकागज |
चैत २७, २०७७ शुक्रबार १७:५५ बजे

काठमाडौँ : यो वर्ष चिनीको उत्पादन घटेको छ । चिनी उद्योगहरू बन्द हुन थालेपछि उत्पादनमा कमी आएको हो ।  गत वर्ष क्रसिङ सिजनमा करिब १ लाख २० हजार टन चिनी उत्पादन भएको थियो । तर,  यसपाली गत वर्षको झन्डै आधा मात्रै परिमाणमा चिनी उत्पादन भएको छ ।

चिनी उद्योगहरूले मन्‍त्रालयलाई पठाएको तथ्यांकअनुसार यसपाली ६५ हजार ३१९ टन मात्रै चिनी उत्पादन भएको छ । यो गत फागुनसम्म संकलन गरिएको तथ्यांक हो । घाटामा गएको भन्दै पाँचवटा चिनी उद्योगहरू बन्द भएका छन् ।  ८४ लाख ८६ हजार १५४ क्विन्टल उखु क्रसिङ भएको मन्‍त्रालयको तथ्यांकमा उल्लेख छ ।

उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको बताइएको छ ।उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने गरेको बताइन्छ । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।

चिनीको उत्पादन घटिरहेको अवस्थामा आयातमा भने उल्‍लेख्य मात्रामा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १३ करोड १८ लाख टन चिनी आयात भएको छ । झन्डै ६ अर्ब ४७ करोड ७५ लाख ९६ हजार रुपैयाँ बराबर रकम बाहिरिएको हो ।

श्रीराम सुगर मिल्स, लुम्बिनी चिनी उद्योग, अन्‍नपूर्णा सुगर एन्ड के. र इन्दिरा सुगर अहिले बन्द छन् । महाकाली सुगर मिल्स, भागेश्वर सुगर एन्ड के. र बाबा बैजुनाथ सुगर एन्ड के ले हालसम्म विवरण नपठाएको मन्‍त्रालयले जानकारी दिएको छ ।



Author

थप समाचार
x