अर्थ / बाणिज्य

सेयर बजार ३७ अंकले घट्यो, कारोबार पनि घट्यो

घाटामा गएको विवरण आएपछि चन्द्रागिरीको सेयर मूल्यमा पहिरो

इकागज |
बैशाख ६, २०७८ सोमबार १५:३१ बजे

काठमाडौं : सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७. ५८ अंकले घटेको छ । १.३९ प्रतिशतले घटेर नेप्से २६६१.९३ बिन्दुमा पुगेको हो ।

जलविद्युत र फाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । बैंक, डेभलपमेन्ट बैंक, ट्रेडिङ र होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो गिरावट आएको छ ।

सबैभन्दा ठूलो गिरावट होटल तथा पर्यटन समूहको परिसूचकमा देखिएको छ । यो समूहको परिसूचक ६.७ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक १.८६ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार आएकामध्ये दुई कम्पनीको सेयर मूल्यमा ठूलो उछाल आएको छ । ज्योति लाइफ इन्‍स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । महिला लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । त्यसबाहेकका कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि हुन सकेन ।

सबैभन्दा ठूलो गिरावट चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आएको छ । पछिल्लो समय लगातार बढिरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्यमा ठुलो गिरावट आएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको थियो । यस अवधिसम्ममा कम्पनीको घाटा बढेको रिपोर्ट आएपछि सेयर मूल्य घटेको हो ।

चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको चैत १८ गतेसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

सोमबारको कारोबारमा ६ अर्ब ७६ करोड रुपैयाँ सेयर किनबेच भएको छ । ७३ हजार ५८२ पटकको कारोबारमा १ करोड ४२ लाख कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । २८ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।



Author

थप समाचार
x