अर्थ / बाणिज्य

माथिल्लो तामाकोसीको बाँधमा पानी भर्न सुरु

इकागज |
बैशाख १२, २०७८ आइतबार १४:४१ बजे

शनिबाट पानी भर्न सुरु गरिएको माथिल्लो तामाकोशीको बाँध । यो बाँधमा १२ लाख घनमिटर पानी जम्मा हुनेछ । तस्बिर आयोजना कार्यालय

काठमाडौँ : बहुप्रतीक्षित माथिल्लो तामाकोसी (४५६ मेगावाट) को बाँध (ड्याम) मा हिजोबाट पानी भर्न सुरु गरिएको छ । सबै परीक्षण सकाएर वैशाखको अन्तिम वा जेठको पहिलो सातामा एउटा युनिट (७६ मेगावाट) बाट बिजुली उत्पादन प्रारम्भ गर्ने तयारी भइरहेको छ ।अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार वैशाख १५ देखि सुरुङमा पानी हाल्ने तयारी भइरहेको छ । आठ दशमलब चार किलोमिटर लामो हेडरेस टनेल (मुख्य सुरुङ) भरिन १० देखि १२ दिन लाग्ने श्रेष्ठले बताए । 

आयोजनाको बाँधमा १२ लाख घनमिटर पानी जम्मा हुन्छ । ८२२ मिटरको उचाइबाट पानी खस्ने यो आयोजनाका संरचना कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) भन्दा आधा सानो छ । गत चैतमा उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ साढे २६ किलोमिटर र पानी खस्ने उचाइ जम्मा ५० मिटरको थियो ।बाँध र सुरुङमा पानी भर्दै सँगै परीक्षण गर्दै जाने र परीक्षणका सबै प्रक्रिया पूरा गरेपछि बिजुली उत्पादनका लागि बल्ल जेनेरेटर सञ्चालन गरिने कार्यसूचि छ ।


दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोशीको पानी भर्नुअघिको बाँध ।  तस्बिर  :आयोजना कार्यालय

आयोजनामा यतिखेर केही झिना मसिना कामहरु बाँकी रहेको र त्यस्ता काम आज वा भोलिसम्म पूरा हुने जानकारी श्रेष्ठले दिए । ‘पानी भर्न सुरु गरेपछि हामी औपचारिक तवरबाटै गर्नेछौं,’ श्रेष्ठले आइतबार इकागजसँग भने । हिजो बाँधमा पानी भर्दा हिन्दू, बौद्ध र लामा गुरुहरुले धार्मिक तथा सांस्कृतिक तवरबाट पूजाआजा गरी प्रारम्भ गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी २०७३ सालमा पूरा हुनुपर्ने थियो । तर भूकम्प, नाकाबन्दी, डिजाइन परिवर्तन र इलेक्ट्रो–मेकानिकल लटको ठेकेदारको लापर्वाहीले ढिला भएको हो । निर्धारित समयभन्दा निर्माण कार्य पूरा नभएकाले यसको लागत पनि वृद्धि भएको छ । सुरुको अनुमानित लागत करिब ४४ करोड १० लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजबाहेक) थियो । अहिले यसको लागत करिब ७५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 

माथिल्लो तामाकोशी निर्माण गर्नुअघि यस्तो थियो लामाबगर, यही ठाउँमा बाँध बनाइएको हाे । तस्बिर  :आयोजना कार्यालय

माथिल्लो तामाकोसीमा ६ वटा युनिट छन् । प्रत्येकको क्षमता ७६ मेगावाट छ । यो आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट हुने वार्षिक आम्दानीले हरेक वर्ष सय मेगावाटको आयोजना निर्माण गर्न सकिन्छ । विद्युत् प्राधिकरण र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच भएको विद्युत् खरिद सम्झौता (पीपीए) को संशोधित प्रावधानअनुसार आयोजनाको पहिलो युनिटबाट यही वैशाख १५ गते, दोस्रो युनिट वैशाख ३१ गते, तेस्रो युनिटबाट जेठ १५ गते, चौथो युनिटबाट जेठ ३१ गते, पाँचौं युनिटबाट असार १५ गते र अन्तिम तथा छैटौं युनिटबाट असार ३१ गते बिजुली उत्पादन गर्ने उल्लेख छ ।  


Author

थप समाचार
x