अर्थ / बाणिज्य

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

इकागज |
पुस २४, २०७९ आइतबार १८:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।    
    
सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी रहेको योजनाका प्रमुख सुरेश न्यौपानेले बताए ।    
    
उनले ललितपुरतर्फ १० किमी सडकमध्ये सात किमी चालु आर्थिक वर्षमा पूरा हुने बताए । उनले भने, “दुवै जिल्लाको बाँकी खण्डमा पनि यही वर्ष ठेक्कामा जान तयारी गरिएको छ ।”    
    
अहिले काल्चे, भड्डेडाँडा, छपेली बजार आसपासमा कालोपत्र भइरहेको छ । तीनपानेमा ठाउँठाउँमा गरी पहिले अस्थिर रहेको ठाउँमा एक किमी सडक कालोपत्र गर्न बाँकी रहेको प्रमुख न्यौपानेले बताए ।    
    
ललितपुरतर्फ तीन किमी कडा चट्टान छ भने आठ सय मिटरमा ठाउँठाउँमा पहिरो छ । चालु आवमा ललितपुरतर्फको सात किमी सडक सम्पन्न भएमा झण्डै साढे छ किमी सडक निर्माण बाँकी हुने योजनाले जनाएको छ ।    
    
ललितपुरमा तीन किमी र मकवानपुरमा साढे तीन किमी बाँकी छ । यो खण्डमा बहुवर्षीय ठेक्कामा जान स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसँग रु ६६ करोड माग गरिएको छ । बजेट स्वीकृति भएपछि काम भएको बाँकी खण्डमा काम अगाडि बढ्नेछ ।    
    
विगतका वर्षमा वर्षाको समय पहिरोका कारण अवरुद्ध भइरहने खण्डमा विभागले अहिले अध्ययन गरिरहेको प्रमुख न्यौपानेले बताए । विभागको ‘जिओ इन्भाएरोमेन्ट युनिट’ले मकवानपुरमा काम गरिरहेको र त्यो काम सकाएपछि ललितपुरतर्फको बाँकी काम गर्ने उनले बताए ।    
    
“कस्तो संरचना निर्माण गर्ने भन्ने अध्ययनको प्रतिवेदन आउने क्रममा छ, आएपछि काम गर्न सकिनेछ”, उनले भने। अहिले योजनाले माग गरेको बजेट र प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । चालु आवभित्रमा ठेक्कामा जान सके अर्को दुई आवमा निर्माण सकिने गरी योजना बनाइएको छ ।    
    
चट्टान फुटाउन विस्फोट (ब्लास्टिङ) चाहिने भएकाले काठमाडौँ–तराई द्रुतमार्ग आयोनामा कार्यरत नेपाली सेनासँग कुराकानी भइरहेको आयोजनाले जानकारी दिएको छ । हाल सो आयोजनाले समेत आवश्यक सामग्री कान्ति राजमार्गको प्रयोग गरेर ढुवानी गरिरहेको छ । सेनाले पनि यसका लागि सहयोग गर्न सकिने बताएको छ ।    
    
पहिले राजमार्ग हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो । चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ । टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक योजनाले निर्माण गरिरहेको छ ।    
    
काठमाडौँ उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्म सडक काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ । झण्डै ९० किमी लम्बाईको राजमार्ग सबैतिर दुई लेनको हुनेछ । अहिले एक लेन रहेको पुलसमेत विस्तार गरिने योजनाको तयारी अघि बढाएको छ ।    
    
चालु ठेक्कामा ललितपुरतर्फ बिरुवा एसएल सुनकोसी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सन गरी दुई निर्माण कम्पनी कार्यरत छन् भने मकवानपुरमा नागार्जुन सर्वशक्तिले निर्माणको काम गरिरहेको छ । मकवानपुरतर्फ ८० प्रतिशत प्रगति रहेको र बाँकी काम चैतसम्ममा सप्म्पन्न हुने प्रमुख न्यौपानेले जानकारी दिए।    
    
सरकारले विसं २०६९ मा योजना स्थापना गरेर आव २०७१/७२ देखि बहुवर्षीय ठेक्का लागू गरी काम सुरु गरेको थियो । सरकारले योजनालाई हाल पहिलो प्राथमिकताको योजना (पि वान)मा राखेको छ । 



Author

थप समाचार
x