अर्थ / बाणिज्य

नीति तथा कार्यक्रम निर्माणका लागि मेलम्चीले गर्‍याे सुझाव संकलन

इकागज |
जेठ २६, २०८० शुक्रबार १३:५६ बजे

मेलम्ची । आगामी वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले सुझाव संकलन गरेकाे छ । नगरकाे विकासका लागि स्थानीयवासीसँग नगरले सुझाव लिएकाे हाे ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करकाे दायरा बढाउन सुझाब दिएका छन् ।  मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयाेजित नगरकाे आगामी वर्षकाे नीति तथा कार्यक्रमकाे लागि राय सुझाव संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर  विकास निर्माणमा सहज हुने बताएका हुन् । उनले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरकाे आन्तरिक स्राेत बढाउन सुझाव दिए ।


संघीयताकाे कार्यान्वयनपछि पहिलाे पटक नगरले आयाेजना गरेकाे निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सराेकारवाला सँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयाेजित कार्यक्रममा काेटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने वातावरण सिर्जना गर्न देउजाले आग्रह गरे । नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका नानीराम चाैलागाईंले एक वडा एक उद्योग स्थापना गर्ने नीति ल्याउन नगरलाई सुझाव दिए ।चाैलागाईले कृषिलाई व्यवसायिकीकरण गर्न एक वडा एक शीत भण्डार व्यवस्था गर्नुपर्नेमा जाेड दिए । उनले उपभोक्ता समिति र काेटेशन खारेज गरेर याेजनालाई दिर्घकालीन बनाउनु पर्ने बताए ।

स्थानीय व्यवसायीसागरकुमार श्रेष्ठले बाहुनेपाटीबाट मेलम्चीसम्म इन्द्रावती नदीमा ड्याम बनाएर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउन आग्रह गरे । उनले पर्यटनको माध्यम बाट मेलम्चीको समृद्धि सम्भव भएकाे दाबी गरे ।  निवर्तमान नगरप्रमुख डम्बरबहादुर अर्यालले  बस्तीस्तरबाटै याेजना तर्जूमाकाे सुरुवात गर्न सुझाव दिए । उनले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेकाे गुनासाे गरे । उनले भूमि बैंककाे व्यवस्था गरि बाँझाे जग्गा व्यवस्थापनको नीति लिनुपर्ने  बताए।  

मेलम्ची नगरपालिकाकी निवर्तमान  उपप्रमुख भगवती नेपालले  राज्यको सुविधाबाट बञ्चित एकल पुरुषलाई नीति तथा कार्यक्रममा सम्बाेधन गर्न आग्रह गरिन् । उनले कृषिमा किसान, नगरपालिका र सहकारी साझेदारी अनुदानकाे माेडल अपनाएर व्यवसायिक बनाउने बजेट व्यवस्थापन गर्नुपर्ने बताइन् ।  बालअधिकारकर्मी डा. कृष्ण  सुवेदीले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाकाे माध्यमबाट प्रधानाध्यापक  नियुक्ति गर्नुपर्ने बताए । 

नेकपा एमालेका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विकासलाई उत्पादनसँग जाेड्नु पर्ने धारणा राखे । उनले कृषि र पर्यटनकाे क्षेत्रमा लगानी बढाएर नागरिककाे आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताए । कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष  सिपी दुलालले स्थानीय मदिरालाई वैधानिकता दिई करकाे दायामा ल्याएर आन्तरिक स्राेत बढाउन सकिने तर्फ साेच बनाउनुपर्ने धारणा राखे । 

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष फडिन्द्र दाहालले कृषि उत्पादनलाई सहज रुपमा बजार पुर्‍याउन बजेटकाे व्यवस्था गर्न नगरलाई आग्रह गरे । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाकाे जवाफ दिंदै नगरप्रमुख आइतमान तामाङले आएका सुझाबलाई प्राथमिकताका आधारमा क्रमश: समावेश गरिंदै जाने प्रतिवद्धता जनाए । उनले प्रयाप्त स्राेतकाे अभावमा साेच अनुसारकाे काम गर्न समस्या देखिएकाे बताए ।

तामाङले दिर्घकालीन याेजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने जानकारी दिए । उनले संघीय र प्रदेश सरकारसँगकाे समन्वयमा याेजना तर्जूमा गरि आम नागरिककाे भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताए ।  कार्यक्रममा  नगर उपप्रमुख उमा प्रधानले आगामी वर्षको याेजना तर्जुमाकाे  चरणमा रहेकाले सराेकारवालाहरुले दिएकाे सुझावलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले  कार्यक्रमले समुदायकाे अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयाेग पुर्‍याउने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x