अर्थ / बाणिज्य

शान्तिनगरमा तीन युवाले सञ्चालनमा ल्याए 'ओखल अर्गानिक मार्ट'

इकागज |
जेठ २७, २०८० शनिबार ११:४९ बजे

काठमाडा‌ैं । तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिवारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो । 

एमबीए गरेका तीन युवा पुष्कर काफ्ले , लक्ष्मण बजगाई र रजत भट्टले ओखल अर्गानिक मार्ट शुरू गरेका हुन् । 


जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत विकट क्षेत्रमा पाइने अर्गानिक सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रय क्षेत्रमा चिनाउन केन्द्र सञ्चालनमा ल्याइएको बजगाईंले बताए । उनका अनुसार केन्द्रमा जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत जिल्लाका अर्गानिक सामान उपलब्ध छन् । 

उनका अनुसार मार्टमा ओखरलगायत जुम्लाको मार्सी चामल, स्याउको सुकुटी,जौको पिठो र च्याख्ला, डोल्पाको कागुनु चामल, जाजरकोटको सेतो मकैको पिठो र च्याख्ला, मुगुको कोदोको पिठो पाइन्छ । 

त्यस्तै मुगुको जिम्बु, रुकुम, दाङ, जाजरकोट, हुम्लाको लोकल मह, जुम्लाको मिक्स सिमी, फापरको पिठो, दाते ओखर, सिस्नु, मासलगायत पाइने उनको भनाइ छ । 

आफैं केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । 

ओखलका सीइयो काफ्लेले नेतालाई गालीमात्रै गर्नभन्दा पनि आफैं केही गरेर देखाउनुपर्ने बताए । युवाहरू विदेश जाने होड चलेका बेला आफूहरूले देशमै केही गर्ने योजना बनाएको उनको भनाइ छ । 

यस्ता केन्द्रहरूलाई सरकारी सहयोग नगन्य रहेको भन्दै सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।


Author

थप समाचार
x