अर्थ / बाणिज्य

एक महिनापछि सेयर बजारमा रेकर्ड तोडियो

कारोबार १० अर्ब नाघ्यो, ५४ अंकले बढेर २७३८.२९ बिन्दुमा

इकागज |
जेठ २, २०७८ आइतबार १५:५८ बजे

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक कीर्तिमानी बिन्दुमा पुगेको छ । ५४ दशमलव २१ अंकले (२.०२ प्रतिशत) बढेर नेप्से २७३८.२९ बिन्दुमा पुगेको हो ।बैशाख २ मा नेप्से २७३५.४६ बिन्दुमा पुगेर नेप्सेले नयाँ कीर्तीमानी कायम गरेको थियो । करिब एक महिनामा नेप्सेले रेकर्ड तोडेको हो ।

कोभिड-१९ संक्रमण बढ्दै जाँदा सरकारले ७१ जिल्लामा निषेधाज्ञा गरेको छ । पहिलो चरणको कोभिड संक्रमणमा जस्तै आर्थिक गतिविधीहरू सुस्त छन् । राष्ट्र बैंकले सेयर बजारमा लगानी कस्ने नीति नलिएको र बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमै लगानी बढाइरहेकाले नेप्सेमा लगानीकर्ताहरूको आकर्षण बढेको हो ।

कारोबारमा आएकामध्ये रु रु जलविद्युत कम्पनीको सेयर मुल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । ८० रुपैयाँले बढेर यो कम्पनीको सेयर मुल्य  ८८० रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्स कम्पनी, समता लघुवित्त, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमइ जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीको मुल्य नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएका छन् ।

आइतबार कारोबारमा आएका सबै समूहका परिसूचक बढेका छन् । विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा समूहका परिसूचकमा उच्च वृद्धि देखिएको छ ।

नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम समेत बढेको छ । आइतबार १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ सेयर कारोबार भएको छ । एक लाख १३ हजार पटकको कारोबारमा दुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल पुर्नबीमा कम्पनीको छ । ८५ करोड २० लाख रुपैयाँको किनबेच भएको निफ्राको मुल्य एक हजार छ सय ४३ रुपैयाँ कायम छ । एनसीसी बैंकको सेयर कारोबार ३१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।



Author

थप समाचार
x