अर्थ / बाणिज्य

नेप्सेको नयाँ रेकर्ड, कारोबार रकम पनि १३ अर्ब नाघ्यो

इकागज |
जेठ १०, २०७८ सोमबार १६:४ बजे

काठमाडौँ : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २,८२३.०६ बिन्दूमा पुगेको छ । सोमबार सामान्य ३.०७ अंक अर्थात् ०.११ प्रतिशतले बढेर नेप्सेले नयाँ रेकर्ड बनाएको हो । मौद्रिक नीतिले तेश्रो त्रैमासिक शेयर धितोमा प्रदान गरिने कर्जा यथावत् राखेपछि सेयर बजारमा पुनः उछाल देखिन थालेको हो । 

सोमबार कारोबार रकम पनि उल्लेख्य बढेर १३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । नेप्सेमा दैनिक कारोबारले पनि नयाँ रेकर्ड बनाएको छ । आज नेप्सेमा बैंकिङ्ग, जलविद्युत्, जीवन बीमा, म्युचुअल फण्ड र लगानीबाहेकका अन्य सबै समूहका कम्पनीहरूको सेयरमा बिक्रीको चापका कारण सम्बन्धित समूहगत परिसूचकहरू ओरालो लागेका छन् । सेयर बजारमा प्रभुत्व रहेको बैंकिङ्ग समूह सीमान्त ०.२२ प्रतिशत बढेकाले सोमबार बजार पनि झिनो अंकले उकालो लागेको हो । 


बरुण जलविद्युत् कम्पनी, युनाइटेड आइडीआइ माद्री जलविद्युत् कम्पनी, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । आज धेरै कमाउनेमा जलविद्युत् कम्पनीका लगानीकर्ताहरू रहेका छन् । त्यस्तै डेभलपमेन्ट बैंक र वित्त (फाइनान्स) कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । धेरै गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था तथा सिन्धु विकास बैंक लगायतका लगानीकर्ता रहेका छन् ।
सोमबार कारोबार भएका मध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ । 

सोमबार नेप्सेमा जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को सबैभन्दा ठूलो कारोबार भएको छ । एचआइडीसीएलको १ अर्ब २६ करोड २१ लाख नौ हजार नौ सय सात कित्ता सेयर ११ हजार चार सय ९६ ओटा कारोबारबाट किनबेच भएको छ । 

सोमबार नेप्सेमा २१६ कम्पनीका १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ मूल्यका २ करोड ७१ लाख ४० हजार दुई सय दुई कित्ता सेयर एक लाख ३६ हजार चार सय ९९ ओटा कारोबारमार्फत् किनबेच भएको छ । 
 


Author

थप समाचार
x