अर्थ / बाणिज्य

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरूको आरोप

इकागज |
कात्तिक २४, २०८० शुक्रबार २०:१८ बजे

काठमाडौँ- सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।

सांसदहरूले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उनीहरूले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त रहेको आराेप लगाए ।


सांसदहरूले सरकारले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन् । त्यस्तै सांसदहरूले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एकरूपता नदेखिएको जिकिर गरे । उनीहरूले सरकारले निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको संकेत रहेको उल्लेख गरे ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभावी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्ने भन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए । उनले मानिसहरूको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताए ।

अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने पौडेलकाे भनाइ छ । उनले अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक–फरक कुरा आउने गरेका जिकिर गरे । उनले प्रधानमन्त्री नेपालमा अर्थतन्त्र समस्या छ भन्ने तर त्यही सरकारका विभागीय अर्थमन्त्री बेलायत पुगेर राम्रो छ भन्ने कुरामा कसको कुरा पत्याउनु ? भन्दै प्रश्न गरे ।

पूर्व अर्थमन्त्री पौडलले प्रधानमन्त्री समस्याग्रस्त भएको अर्थतन्त्र सुधार गर्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्नु अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको जस्तो लागेको उल्लेख गरे । 

 

बैठकमा बोल्दै कांग्रेस सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए । अर्थतन्त्रमा देखिका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने उनी बताउँछन् । उनका अनुसार पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धिदर, बढ्दो मूल्य वृद्धि रहेको छ ।

पूर्व अर्थमन्त्री कार्कीले देश विकासमा सबैको ध्यान जानुपर्ने समय भए पनि त्यस्तो नभएको गुनासो गरे । उनले अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको बताए । नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेको भन्दै सरकार यसतर्फ सचेत रहनुपर्ने उनले बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रीन अर्थतन्त्रलाई प्राथमिकता लिए अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए  । उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भए पनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए । उनले अर्थतन्त्रका बारेमा जानेको अर्थमन्त्रीले ल्याएका बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएका बताए ।

सांसदहरूले अहिले जिल्ला–जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको भन्दै सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी गर्न सुझाव दिएका छन् । उनीहरूले आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको बताए । 

 


Author

थप समाचार
x