अर्थ / बाणिज्य

विश्वमा खाद्यान्न महँगियो, आयात गरेर पेट भर्ने नेपाललाई धक्का

इकागज |
जेठ २०, २०७८ बिहीबार १६:३८ बजे

फाइल फोटो

काठमाडौँ : संयुक्त राष्ट्र संघीय निकाय  खाद्य तथा कृषि संगठन (एफएओ)ले अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य दशकयताकै महँगिएको तथ्य सार्वजनिक गरेको छ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात बढाइरहेका मुलुकहरूका लागि यो खुशीको खबर हो । तर, कृषिप्रधान मुलुक कहलिएको नेपालले भने यसको लाभ लिन नपाउने भएको छ ।

एफएओको तथ्यांकअनुसार मे महिनामा विश्व खाद्य सूचकांक १२७.१ बिन्दु पुगेको छ । गत अप्रिलको तुलनामा ४.८ प्रतिशत बढी हो । गत वर्ष मे महिनाको तुलनामा ३९.७ प्रतिशतले बढेको हो । वनस्पति तेल, चिनी र अनाजको अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धिले खाद्य सूचकांकलाई बढाएको एफएओले बताएको छ ।

भारतले आफ्ना किसानलाई निर्यातमा अनुदान दिएर त्यहाँका किसानलाई उत्पादनमा प्रोत्साहन गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्‍नको मूल्य बढिरहँदा निर्यात बढाइरहेको भारत किसानले आफ्नो उत्पादन बढाएर उचित मूल्य उठाउन सक्छन् । तर, नेपालले भारत र तेस्रो मुलुकबाट खाद्यान्न आयात गरी आन्तरिक बजारको माग धानिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्यमा खाद्यान्न बिक्री गरेर उठाउनसक्ने लाभबाट नेपाल चुक्ने मात्र होइन, उत्पादनले धान्न नसकेर आयात बढाइरहेको समयमा नेपाल थप महँगीको मारमा पर्ने जोखिम बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले २१ अर्बको चामल, १६ अर्बको धान, ११ अर्बको धान र ११ अर्बकै गहुँ आयात गरेको छ । त्यसबाहेक सात अर्बको चिनी आयात भएको छ ।

विश्वमा खाद्यान्नको उत्पादनले कीर्तिमानी कायम गरिरहेको तथ्यांकलाई ओझेलमा पार्दै खाद्य सूचकांकको नयाँ तथ्य बाहिरिएको हो । अप्रिलको तुलनामा मकैको अन्तर्राष्ट्रिय मूल्य वृद्धि भएकाले अनाजमा ६ प्रतिशतले महँगिएको छ । 



Author

थप समाचार
x