अर्थ / बाणिज्य

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

इकागज |
बैशाख १८, २०८१ मंगलबार १८:१५ बजे

काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ ।

तथ्यांक कार्यालयले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मूल्यमा ३.८७ हुने प्रारम्भिक अनुमान रहेको जनाएको हो । यस आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आधार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान गरेको तथ्यांक कार्यालयले जानकारी दिएको छ ।


त्यस्तै कुल ग्राहस्थ उत्पादन (जीडीपी)को  ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको छ, तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले ६ देखि ८ महिनाको डाटाका आधारमा वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदन बनाइएको बताए । उनले पछिल्लो अर्थतन्त्रको सूचक हेर्दा अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको देखिएको धारणा राखे ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेको छ । त्यस्तै चालु आर्थिकमा जीडीपीको २२ दशमलव ९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान गरिएको छ ।


Author

थप समाचार
x