अर्थ / बाणिज्य

लगातार खस्किरहेको सेयर बजारमा उच्च अंकवृद्धि : 'डेड क्याट बाउन्स' की 'रिकभरी' ?

इकागज |
असार ८, २०७८ मंगलबार १६:२२ बजे

काठमाडौँ : एक साता लगातार खस्किरहेको सेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि भएको छ । असार १ बाट लगातार ओरालो लागिरहेको बजारमा एक सातामा नेप्से परिसूचक एक सय ९१ अंक खस्किएको थियो । मंगलबार सेयर बजार नेप्से परिसूचकमा ७९.४४ अंकले बढेको छ । दुई दशमलव आठ प्रतिशतले बढेर नेप्से २९१३.८४ बिन्दुमा पुगेको हो । 

भारी अंकले गिरावट आइरहेको सेयर बजारमा अचानक देखिने यस्तो वृद्धि डेड क्याट बाउन्स हुनसक्ने संशय कायमै छ । लगानी क्षेत्रमा पुरानो भनाइ छ - मरिसकेको बिरालो निश्चित उचाइबाट खस्यो भने उफ्रिन्छ । कहिलेकाहीँ सेयर बजारलाई ग्राफमा हेर्दा लामो समयको गिरावटपछि परिसूचकमा अल्पकालीन वृद्धि देखिनसक्छ । त्यस्तो वृद्धि क्षणिक हुनेभएकाले पुन: सेयर बजार ओरालो लाग्नसक्छ । जसलाई  'डेड क्याट बाउन्स' भनिन्छ । 


धितोपत्र बोर्डले जोखियुक्त भन्दै ५१ कम्पनीहरूको सूची सार्वजनिक गरेपछि पछिल्लो एक सातामा बजारमा क्रमिक ओरालो लागेको थियो ।  सरकारले गत आर्थिक वर्षदेखि हालसम्मको कर चुक्ता गर्ने अवधि चैत २५ सम्म तोकेको छ । बैंकहरूले तरतलता चाप पर्न थालेपछि निक्षेपको ब्याजदरलाई असार १ बाट बढाएका छन् । समग्रमा बजार खुकुलो बन्दै गइरहेको अवस्थामा सेयर बेच्ने क्रम बढेको छ । नियामकले जारी गरेको विज्ञप्तिको प्रभावस्वरुप प्यानिक सेल भएको र कोभिडको कारण खुम्चिएको आर्थिक गतिविधि  खुकुलो बन्दै गइरहेकाले सेयर बजार क्रमश: ओरालो लाग्दै गइरहेको छ । 

यद्यपि निषेधाज्ञा पूर्ण रुपमा नखुलेको अवस्थामा सेयर बजारमा प्यानिक सेलबाट सस्तिएको सेयर उठाउने र निश्चित समयपछि बिक्री गरेर बाहिरिने प्रवृत्तिका केही ठूला लगानीकर्ताले चलखेल गर्ने सम्भावना बढेको छ । बजार बुल हुने अपेक्षामा हौसिएर लगानी गर्ने नयाँ लगानीकर्ताहरू मारमा पर्ने जोखिम उत्तिकै छ । 

पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर 
मंगलबारको 'स्टक रिकभरी'मा पाँच कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । ङादी ग्रुप पावर, एचआइडिसिएल, पञ्‍चकन्या माइ हाइड्रोपावर, जानकी फाइनान्स र बरुण हाइड्रो पावरको सेयर मूल्य बढेर सर्किट ब्रकेर लाग्यो । २८ कम्पनीको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । 

यसरी वृद्धि हुनेमा अधिकांश जलविद्युत्, विकास बैंक र फाइनान्स समूहका कम्पनीहरू छन् । फाइनान्स समूहको परिसूचक पाँच दशमलव आठ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक पाँच दशमलव ४७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक पाँच दशमलव ७७ प्रतिशतले बढ्यो । 

मंगलबार बैंकिङ समूहमा पनि उच्च वृद्धि देखिएको छ । बैंकिङ समूहको परिसूचक दुई दशमलव ३३ प्रतिशतले बढेको छ । १० अर्ब २८ करोड रुपैयाँ सेयर कारोबार भएको छ । एक लाख १२ हजार पटकको कारोबारमा एक करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यो कम्पनीको एक अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । 

वारेन बफेटको प्रिय सूचक ९५ प्रतिशत
विश्व विख्यात सेयर खेलाडी वारेन बफेटको प्रिय मानिएको सूचक ९५ प्रतिशत पुगेको छ । यसले बजारमा जोखिम अझै कायम भएको देखिन्छ । कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा बजार पुँजीकरण ९५ प्रतिशत देखिएको हो । यसलाई बफेट इन्डिकेटर पनि भनिन्छ । 

मंगलबार बजार पुँजीकरण ४० खर्ब ४८ अर्ब पुगेको हो ।  


Author

थप समाचार
x