अर्थ / बाणिज्य

शेखर गोल्छा नेतृत्वको कार्यसमितिले पदभार सम्हाल्यो

इकागज |
मंसिर १४, २०७७ आइतबार २२:१८ बजे

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न  ५४औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले आज अपराह्न पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

निर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कार्यकारिणी समितिका सदस्यहरुले सपथ लिएका छन् । अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए । 


अध्यक्षको पदभार ग्रहण पश्चात् सम्बोधनका क्रममा गोल्छाले महासंघलाई निजी क्षेत्रको संगठीत आवाज बोक्ने संस्थाको रुपमा विकास र सुदृढ गर्दै लैजाने अग्रजको सपना पुरा गर्न हरतरहले लाग्ने बताए । 

‘निर्वाचनका क्रममा घोचपेच केही थिए भने सवैलाई बिसाएर अब समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि मेरो कार्यसमितिले काम गर्नेछ,’ उनले भने, ‘मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पु-याउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छु ।’ गोल्छाले तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न प्रयास गर्ने, सँगसँगै उत्थानशील अर्थतन्त्र निर्माणका लागि सुधारमा पैरवी गर्ने सोच सुनाए । यो सोच आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लैजाने उनको भनाइ छ । 

पदभार हस्तान्तरण र ग्रहण समारोहमा निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पीन लगाई दिएका थिए । 


Author

थप समाचार
x