अर्थ / बाणिज्य

लोडसेडिङमुक्त गराउने शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी

इकागज |
असार २९, २०७८ मंगलबार २१:४ बजे

काठमाडौँ : माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा माओवादीतर्फबाट शर्मा नियुक्त भएका हुन् । 

२०७३ मा ऊर्जामन्त्री बनेका शर्माको कार्यकाल सफल बन्यो । १६ घन्टासम्म लोडसेडिङ झेलिरहेको अवस्थामा ऊर्जा मन्त्रालयको नेतृत्वमा शर्मा आएपछि नेपाल लोडसेडिङमुक्त बनेको थियो ।

शर्मा मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल विद्युत्‌ प्राधिकरणका तत्कालीन नेतृत्वलाई हटाएर कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । घिसिङको नेतृत्वमा मुलुकमा १६ घन्टासम्म लोडसेडिङ हुने समस्या हटाएका थिए । त्यसपछि शर्मा एकाएक चर्चामा आएका थिए । 

१० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी लडाकुको 'डेपुटी कमान्डर'समेत सम्हालेका शर्मा त्यतिबेला पनि चर्चामा थिए । ऊर्जामन्त्रीको कार्यभार सम्हालेपछि उनको लोकप्रियता बढेको हो ।   

यस्तो छ शर्माको राजनीतिक यात्रा : 


रुकुम पश्चिम मुसिकोट नगरपालिका निर्वाचित सांसद शर्माले स्नातक गरेका छन् । २०३४ सालमा पार्टी इकाई कमिटी (चौम) बाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०३४ सालबाट नै पार्टीगत राजनीतिमा सक्रिय २०५६ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य थिए। २०५७ मा माओवादीको पोलिटब्युरो सदस्य बने । २०६० मा जनमुक्ति सेनाको डिभिजन कमाण्डर बने ।

२०७० मा नेकपा माओवादीको स्थायी समिति सदस्य बने । २०७१ मा जनवर्गीय संगठनको इञ्‍चार्ज समेत भएका थिए । माओवादीको प्रदेश ६ को इञ्‍चार्ज बनेका थिए। २०७५ जेठपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्‍चार्ज समेत भए।

२०६३ मा संसदीय यात्रा अन्तरिम व्यवस्थापिका सदस्य बनेका थिए । २०६४ र २०७० मा संविधानसभा सदस्य बने । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए । हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।

कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा कार्यकारी भूमिकामा रहेर समेत काम गरेका थिए । उनी २०६५ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।  २०७४ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । २०६४ मा विशेष जिम्मेवारी सेना समायोजन विशेष समिति सदस्य थिए ।

राजनीतिक आन्दोलनका क्रममा भूमिगत (२०४५-२०४७) बनेका थिए । (२०५०-२०६३) विभिन्न समयमा पटक-पटक जेल जिवन बिताएका थिए।

सांसद शर्मा नेकपाको प्रभावशाली नेतामध्येका एक हुन् ।  पटक-पटक कार्यकारी जिम्मेवारी बहन गरेका थिए । उनी तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डर पनि हुन् । उनी राज्यबाट जनसेवाश्री र सविधानसभा पदक प्राप्त गरेका छन् ।


Author

थप समाचार
x