अर्थ / बाणिज्य

सेनाको दाबी : काठमाडौँ-तराई/मधेश द्रुतमार्ग वार्षिक लक्ष्य अनुसार नै अघि बढेको छ

इकागज |
साउन ५, २०७८ मंगलबार २०:२० बजे

काठमाडौँ - नेपाली सेनाको व्यवस्थापनमा निर्माणधिन काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (एक्सप्रेस वे) भौतिक १६.१० प्रतिशत र वित्तिय तर्फ १४.५१ प्रतिशत प्रगति हासिल गरेको छ । सेनाले आयोजनाको आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा भएको प्रगति विवरण बाहिर ल्याएको हो ।

०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ प्रतिशत रहेको जनाइएको छ । विनियोजित रकम बराबरको काम भएको छ । गत आर्थिक वर्षमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत  काम सम्पन्‍न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत  प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा झण्डै नजिक पुगेको उल्लेख छ ।


सुरुङ मार्ग निर्माणका लागि इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन मोडेलमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भएको छ । गत ज्येष्ठ ३१ बाट दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको कार्य प्रारम्भ गरिएको छ ।

सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरू सुचारु गरिएको छ । हाल उक्त परामर्शदाताबाट विभिन्‍न कार्य प्रारम्भ भएको छ।

आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार आठ बेलिबृज जडान भइसकेका छन् भने अन्य जडान हुने क्रममा रहेको सेनाले जनाएको छ । साथै पुल तथा सुरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडि बढेको छ ।

हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धि कार्य सम्पन्न भएको र बाँकीमा पनि छलफल भइरहेको जनाएको छ । खोकना-बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ । 

रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न भएको छ । रुख कटान भए अनुसार १:२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य अनुसार असार मसान्तसम्म २ लाख ४९ हजार बढी वृक्षारोपण गरिएको पनि जनाएको छ ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ मार्ग र पुल निर्माणसम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भई काम अघि बढेको छ ।

नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डौँ-तराई/मधेश द्रुतमार्ग आयोजना कोभिड-१९ को कारण भएको ढिलाइका बाबजुद समयमै सम्पन् गर्न सदैव कटिबद्ध रहेको जनाइएको छ ।


Author

थप समाचार
x