अर्थ / बाणिज्य

बुटवलमा अनुगमनका क्रममा भेटियो सडेको मासु

बिक्रम खड्का |
साउन १४, २०७८ बिहीबार १८:३९ बजे

बुटवल - बुटवलका विभिन्न मासु पसलहरूमा गरिएको अनुगमनमा सडेको मासु भेटिएको छ । बिहीबार बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनमा कतिपय मासु पसल मापदण्डविपरीत चलेको र सडेगलेको मासु विक्रीका लागि राखेको भेटिएको हो । 

अस्वस्थकर र सडेको अवस्थामा राखिएका त्यस्ता माछामासुजन्य पदार्थलाई अनुगमन समितिले नियन्त्रणमा लिएर रोहबरमा नष्ट गरिएको अनुगमन समिति संयोजक तथा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार बिहान बुटवलका मासु पसलको अनुगमन गरेको थियो । 


अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफा सुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको अनुगमन समिति संयोजक तथा उपप्रमुख आचार्यले बताइन् । 

उनले भनिन्, ‘अनुगमनका क्रममा करिब ८० किलो सडेको र अस्वस्थकर अवस्थाको माछा मासु भेटियो । जसलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूकै रोहवरमा नष्ट गरियो ।’ 

बुटवल उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन निर्देशन दिइएको बताए । बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन भएको थियो । 

अनुगमनका क्रममा कतिपय मासु पसलमा सुधार हुने क्रममा रहेको र कतिपयले सुधार गरिरहेको पाइएको थियो । यद्यपि अधिकांशमा अस्वस्थकर र सडेका परिकार विक्री वितरण गर्ने गरेको पाइएको उपमहानगरको अनुगमन समितिले जानकारी दिएको छ । 

अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासू नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।
नेपालगन्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाईन स्थीत भुडकी चोकमा रहेका ताहिर मासू पसलमा अनुगमन गर्दा २५ किलो मासू सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासू बेच्न राखेको पाईएपछि उक्त मासु नष्ट गरिएको थियो ।

यस्तै बुटवलको सब्जीमण्डी स्थित सटरमा टोलछिमेकमै दुर्गन्ध फैलाउनेगरि मासु पसलहरु सञ्चालन भएको पाइएको छ । त्यहाँका करिब आधा सटरहरुमा अव्यवस्थित तरिकाले मासु पसल सञ्चालन भएको पाइएपछि तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

त्यहाँका सटरमा राँगा, पाडा तथा भैंसीको समेत मासुलाई अस्वस्थकर तरिकाले विक्री वितरण गर्ने गरेको र छाला र हड्डीहरुसमेतलाई असरल्ल रुपमा दुर्गन्ध फैलाउनेगरि भण्डारण गर्ने गरेको पाइएको छ । 


 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x