अर्थ / बाणिज्य

राष्ट्र बैंक र त्रिविबीच शोध तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी

इकागज |
भदौ २, २०७८ बुधबार १७:४९ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भदौ १ गते बैंकमा आयोजित कार्यक्रमकाबीच समझदारी भएको हो । 

समझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरे ।

समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई  प्राथमिकता दिइने समझदारीसमेत भएको छ । 

यस अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैंमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो सहकार्यले प्राज्ञिक शोध/अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। 

आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिए । कार्यक्रममा का.मु.कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए ।  



Author

थप समाचार
x