अर्थ / बाणिज्य

महिलाले नेतृत्व गरेका व्यवसायको उत्थानशीलता विकास गरिने

इकागज |
भदौ ६, २०७८ आइतबार १२:३२ बजे

काठमाडौँ– कोभिड–१९ महामारीले लघु, घरेलु तथा साना उद्यममा परेको गहिरो असरलाई मध्यनजर गर्दै  महिलाले सञ्चालन गरेका उद्यमको उत्थानशीलताका लागि परियोजना शुरु गरिएको छ । यसले औपचारिक र अनौपचारिक क्षेत्रका घरयासी महिला उत्पादकहरूलाई समेत समेटेर कोभिड–१९ को अनिश्चितता र संकटका बाबजूद व्यवसायिक निरन्तरता र उत्थानशीलताका लागि आवश्यक सीप तथा जानकारी प्रदान गर्ने बताइएको छ । 

अर्थतन्त्रको स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लघु, साना र मझौला उद्यम (एमएसएमईज्) विभिन्न खालका विपद्बाट जोगिन सक्नेगरी उत्थानशील र दीगो बनाउने कार्यले आर्थिक पुनरुत्थानमा मद्दत पुग्ने ‘इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी’ (इमर्ज) संस्थाकी सीईओ मोना श्रेष्ठ अधिकारीले बताइन् । 


नेपालमा ठूलो डट कम र इमर्जले व्यवसायिक उत्थानशीलता सम्बन्धी यो कार्यक्रम अमेरिकी सहयोग नियोग (युएसएड)को तयार नेपाल– विपद् जोखिम उन्नत व्यवस्थापन परियोजनाको सहयोगमा सञ्चालन गर्न लागेको हो ।  ठूलो डट कम र इमर्जले हालै महिलाहरूले सञ्चालन गरेका व्यवसायको उत्थानशीलता विकास सम्बन्धी उक्त परियोजना शुरु भएको घोषणा गरेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बैंक तथा बीमा कम्पनी, विकास साझेदार, निजी क्षेत्रका संस्थाहरू, स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थितिमा भर्चअल माध्यमबाट उक्त परियोजना उद्घाटन भएको छ । कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्ने क्रममा इमर्जकी सीइओ मोना श्रेष्ठ अधिकारीले हरेक व्यवसायलाई विपद् जोखिम पूर्वतयारी आवश्यक रहेको भन्दै व्यवसायको अन्य व्यवस्थापनको पाटोसँगै समग्रतामा विपद् जोखिम व्यवस्थापनलाई पनि साथै अघि बढाउनुपर्ने उल्लेख गरिन् । यो परियोजना लुम्बिनी प्रदेशका १० जिल्ला र १५ नगरपालिकामा केन्द्रित हुनेछ ।  

घरेलु उत्पादकहरूका सार्क व्यवसायिक संगठन, राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल, व्यवसाय तथा पेशागत महिला महासंघ, अपाङ्गता भएका महिलाहरूको महासंघ तथा सुर्खेतको वीरेन्द्रनगर, कैलालीको गोदावरी, धादीङको नीलकन्ठ नगरपालिक, दाङको तुलसीपुर उपमहानगरपालिका युएसएडको तयार परियोजनाको कार्यक्षेत्र रहेको छ । 

युएसएडको तयार परियोजनाकी प्रमुख ताम्मी ह्यारिसले कोभिड–१९ महामारीमा महिलाले सञ्चालन गरेका व्यवसायको पुनरोत्थान लैंगिक समानता, सामाजिक समावेशीकरण निजी क्षेत्रको विस्तारका लागि महत्वपूर्ण भएका बताइन् । यो परियोजनाले महिला उद्यमी तथा उत्पादकलाई व्यवसायिक उत्थानशीलताले समुदायको सशक्तीकरण र थप उद्यमशीलता विकासमा टेवा पुग्ने बताइन् ।

ठूलो डट कमकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा यस परियोजनाकी सम्पर्क व्यक्ति सुरक्षा अधिकारीले औपचारिक र अनौपचारिक साथै सहरी र ग्रामीण दुवै क्षेत्रका व्यवसायलाई परियोजनाले समेट्ने भन्दै सीमान्तकृत र सामाजिक बहिष्करणमा परेका साथै विकलाङ्ग महिलाहरूलाई समेट्ने बताइन् । उनले यो परियोजनाले १२० महिला उद्यमीको सीपमा स्तरोन्नति र घरेलु उत्पादन व्यवसायमा संलग्न ४० उद्यमीका उत्पादनलाई बजारीकरणका लागि एप्लीकेसन निर्माण गर्नुका साथै अनलाइनमार्फत् बजार प्रवद्र्धन गरिने बताइन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुषालले विद्यमान महामारीका कारण संकुचन भएको बजारलाई लघु–साना तथा मझौला उद्यमले ई–कमर्समार्फत् पुनः हासिल गर्न सक्ने बताए । परियोजनाका अन्य सरोकारवाला र कार्यक्रमका सहभागीहरूले आर्थिक पुनरोत्थान, महिला सशक्तीकरण, लैंगिक समानता र सामाजिक समावेशीकरणको दृष्टिले यो परियोजना महत्वपूर्ण भएको बताएका छन् । 


Author

थप समाचार
x