अर्थ / बाणिज्य

एकैदिन १४०० रुपैयाँ सस्तियो सुन, १३ महिनामा १२३०० रुपैयाँले घट्यो सुन

इकागज |
असोज १, २०७८ शुक्रबार १२:३६ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्यमा आएको गिरावटकारण नेपाली सुन बजारमा यसको प्रभाव परेको छ । शुक्रबार सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँ पुगेको छ । बिहीबार सुन ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन घटेर एक हजार सात सय ५० अमेरिकी डलर प्रति औंस कायम भएको छ । बिहीबार न्यूयोर्कमा सुनको मूल्य ०.४९ प्रतिशतले घटेर एक हजार सात सय ८६  प्रति औंस कायम भएको थियो ।


शुक्रबारसम्म आइपुग्दा सुन कीर्तिमानी उच्च मूल्यबाट १२ हजार तीन सय रुपैयाँ सस्तिसकेको छ । २०७७ साउन २१ मा सुन हालसम्मकै एक लाख एक हजार चार सय रुपैयाँको उच्च बिन्दुमा पुगेर कीर्तीमान कायम गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कोभिड-१९ ले शिथिल बनेको अर्थतन्त्रमा लगानीकर्ताहरू सुनमा आकर्षित भएका थिए । अर्कोतिर चीन र अमेरिकाबीच चर्किएको तनाव तथा अमेरिकी केन्द्रीय बैंकले घटाएका ब्याजदरका कारण पनि सुनको भाउ बढिरहेको थियो । तर कोभिड-१९ विरुद्धको खोप आविष्कार भएसँगै विश्वव्यापीरुपमा खोप लगाउने कामले तीव्रता पाइरहेको छ । जसले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउँदै लगिरहेको छ ।


Author

थप समाचार
x