अर्थ / बाणिज्य

कन्टेनर ढुवानीमा प्रतिस्पर्धी कम्पनी भित्रिएपछि भाडा सस्तियो

इकागज |
असोज १, २०७८ शुक्रबार १६:२२ बजे

फाइल फोटो

काठमाडौँ नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कन्कर)ले ढुवानी भाडा घटाएको छ । बुधबार हिन्द टर्मिनलको रेल भारतको हल्दियाबाट कन्टेनर लिएर वीरगञ्‍जको सुख्खा बन्दरगाह आइपुगेको थियो । त्यसैदिन कन्करले आफ्नो भाडादर घटाएको विवरण सार्वजनिक गरेको थियो ।

गत जुलाइ २१ तारिकमा नेपाल र भारत दुवै देशका सचिवस्तरीय बैठक बसेर दुई देशबीचको रेल सेवा सम्झौता पुनरवलोकन गरी संशोधन गरेपछि नेपाली कार्गोको रेलबाट हुने ढुवानी सेवा निजी क्षेत्रको रेलले पनि गर्न पाउने बाटो खुलेको थियो ।


सम्झौता संशोधन गरिएको २ महिनामा बुधबार पहिलो पटक निजी क्षेत्र हिन्द टर्मिनल्सको रेल नेपालको ९० कन्टेनर खाद्यान्न बोकेर सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको थियो ।

२० फुटे कन्टेनरको हकमा कलकत्ताबाट वीरगञ्‍जसम्मको ढुवानी भाडादर ३९ हजार ८ सय ५६ भारतीय रुपैयाँ तोकिएको छ । यसअघि भाडादर ५६ हजार चार सय १२ भारु थियो । ४० फुटे कन्टेनरको हकमा यस्तो भाडा ५८ हजार ८ भारु निर्धारण गरिएको छ । यसअघि भाडादर ७६ हजार ६ सय ९८ भारु थियो ।

हल्दियादेखि वीरगञ्‍जसम्मका लागि २० फुटे कन्टेनरमा भाडादर ४४ हजार ८ सय ५६ भारु निर्धारण गरिएको छ । त्यस्तै ४० फुटे कन्टेनरमा भाडादर ६६ हजार आड तोकिएको छ । विशाखापटनमबाट २० फुटे कन्टेनरमा वीरगञ्ज ल्याउन भारू ५५ हजार तिरे पुग्छ । त्यस्तै ४० फीटको कन्टेनरमा भाडा ७७ हजार तोकिएको छ । यसअघि यो भाडा ७५ हजार ९ सय रुपैयाँ थियो ।


Author

थप समाचार
x