अर्थ / बाणिज्य

दसैं लक्षित खसी बजारमा चहलपहल

कमल धिताल |
असोज २३, २०७८ शनिबार १९:११ बजे

काठमाडौँ- दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नवरात्रीमा बलि दिनका लागि खसीबोका  हाँसकुखुरा खरिदका लागि खरिदकर्ताको भीड लाग्न थालेको छ । काठमाडौँको कलंकी स्थित खसीबजार, टुकुचा, थापाथली लगायतका स्थानमा खसीबोका किनबेच सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली स्थित कार्यालय परिसरबाट खसीबोका बिक्री सुरु गरेको छ । दसैँमा अधिकासंले आफ्नै घरमा लगेर खसीबोका बलि दिने गर्छन् । खोप अभियान विस्तारसँगै गत वर्षभन्दा यस वर्ष कोभीड-१९ संक्रमणदर कमीका कारण दसैं हर्षेल्लासका साथ मनाउने तयारी सहित खसीबोका किन्नेको ठूलै जमात देखिन्छ ।

भारतबाट कम आयत


कलंकी खसीबजारमा खसीबोका च्याङ्ग्रा लगायतका वस्तुभाउको बिक्री वितरण गर्दै आएका रमा ट्रेडलिङ्क सुरेश खड्काले पोहोर कोभीड-१९ ले गर्दा खसीबोकाको बिक्रीमा केही उत्साह थपिएको बताए । सामान्यबेला औसतमा ६ सय खसीबोका बिक्री गर्दै आएका उनले हाल औसत १ हजार सम्म खसीबोका बिक्री गर्ने गरेको उनको भनाइ छ । पोहोर उनले दसैँमा समेत दैनिक औसत ५ सय सम्म खसीबोका बिक्री गरेको बताउँछन । हाल जिउँदो खसी ६ सय ६० देखि ७ सयसम्म बिक्री भैरहेको खड्का बताउँछन् । खसीबोकाको बिक्री अष्टमीको दिनसम्म अलि बढी हुने र त्यसपछि क्रमश: व्यापार घट्दै जाने खड्काले उल्लेख गरे ।

उता भारतीय खसीबोकाको खरिद बिक्री गर्दै आएको अनवरल सप्लायर्स भने भारतबाट खसी आयात नहुँदा आफ्नो व्यापार बढ्न नसकेकाे बताएको छ । हाल भारतीय जिउँदो खसी ७ सय २५ देखि ८ सय सम्म बिक्री हुँदै आएको बिक्रेता अनवरल सप्लायर्स बताउँछ । नेपाली खसी भन्दा भारतीय खसी आयतमा केही महंगो हुँदा बिक्रीमा प्रत्यक्ष असर परेको खसीबोका व्यापारीको तर्क छ ।

च्याङ्ग्रा आयात ठप्प

दसैँमा खसीबोका विभिन्न पहाडी जिल्ला तथा भारतबाट आयात हुन्छ । च्याङ्ग्रा भने नेपालका हिमाली जिल्ला तथा चीनबाट आयत हुने गरेको छ । यो दसैँमा चीनबाट चाङ्ग्रा आयात भने ठप्प छ । चीनले विभिन्न बाहाना देखाइ हाल अन्य सामानको आयतसमेत कम गरेको छ । चाङ्ग्रा आयत त ठप्प रहेको बताउँदै काठमाडौँ चौपाया खरिद बिक्रीका व्यवस्थापक जीवनराज खतिवडाले यो वर्ष चाङ्ग्रा नेपालको हिमाली भेगको मात्र बजारमा बिक्रीमा रहने जानकारी दिए ।

गतवर्ष भन्दा कारोबार बढी

काठमाडौँ उपत्यकामा कलंकी, टुकुचा, थापाथलीलगायतको स्थानमा खसीबोका किन्नेको भीड लागेको देखिन्छ । गतवर्ष भन्दा यसबर्ष व्यापार केहि बढेको कलंकीमा चौपाया व्यापार गर्दै आएको रामशरण श्रेष्ठ बताउँछन् । केहि दिनको व्यापारहेर्दा यसपाली दसैँमा गतवर्ष भन्दा बढी व्यापार हुने उनको तर्क थियो । कलंकीबजारमा दसैँका लागि खसी खरिद गर्न आएका लोचन कार्की गतवर्ष कारोनाले गर्दा दसैँ राम्रोसँग मनाउँन पाइएन यो वर्ष भने धुमधामकासाथ मनाउने योजना सुनाउँछन् ।

मासुका लागि बिक्री हुने चौपायाको स्वास्थ परीक्षण अनिवार्य

सरकारले खसीबोका च्याङ्ग्रा लगायत मासुका लागि प्रयोग हुने जिउँदा जनावरको स्वास्थ परीक्षण अनिवार्य गरेको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र बागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर दसैँको लागि खसीबोका तथा च्याङ्ग्रा लगायतका जनावरको स्वास्थ्य परीक्षण गरेरमात्र बिक्री गर्ने गरेको काठमाडौँ चौपाया खरिद बिक्रीका व्यवस्थापक जीवनराज खतिवडा बताउँछन् ।

उपत्यकाका लागि मकवानपुर, चितवन र विभिन्न पहाडी जिल्लाबाट खसीबोका आयात गरिन्छ । त्यस्तै,भेडा च्याङ्ग्रा भने तिब्बतलगायत हिमाली भेगबाट आयात गरिन्छ । बाहिरबाट लामो यात्रा तय गरेर आएका खसीबोका ल्याउँदा ल्याउँदै बिरामी हुने गर्दछन् ।

जिल्लामा स्वास्थ्य परीक्षण गरेर पठाएको चौपाया काठमाडौँमा पुन: परीक्षण गर्ने गरेको र यसले खरिदकर्ताको लागि स्वस्थ्य मासु पाउने खतिवडाको भनाई थियो ।  दसैँमा अधिकांशले आफ्नै घरमा ल्याएर खसीबोका काट्ने चलन छ । तर, स्वस्थ खसीबोकाको पहिचान गर्न नसक्दा यसबाट विभिन्न रोग लाग्न सक्ने खतरा रहने हुँदा दसैँमा उपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाउन भन्ने उद्देश्यले काठमाडौँ भित्रिएपछि पनि स्वस्थ्य परीक्षण अनिवार्य गरेको खतिवडाले बताए ।

सिंगमा चिन्ह

दसैँमा मासुका लागि उपयोग हुने चौपायाहरू स्वस्थ छन् कि छैनन् भनेर पशु सेवा विभागले प्राविधिकहरुको सहयोगबाट चौपायाको सिङ्गमा रंग लगाउने गरेको छ । चौपायाहरुको स्वास्थ्य अवस्था हेरेर खानयोग्य खसीबोकाको सिंगमा हरियो र खान अयोग्य भएको खसीबोकाको सिंगमा रातो रंग हुनेछ । साथै ग्राहकले चौपाया खरिदगर्दा यसको लक्षणबाट समेत थाहा पाउन सकिन्छ । बिरामी चौपायाले विभिन्न लक्षण देखाउने गर्छन् ।

यस्तो छ मुल्य

दसैँको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ प्रति केजी मूल्य तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ प्रति केजीमा विक्री गर्ने तय गरेको खसी, बोकाको मुल्य दसैँका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँ प्रति केजीमा विक्री वितरण गरेको हो ।  उता काठमाडौँ चौपाया खरिद बिक्रीले खसीको मुल्य ६ सय ५० प्रति केजी देखि ७ सय ५० रुपैयाँ प्रति केजी तोकेको छ । बोका मुल्य ६ सय २० रुपैयाँ  देखि ७ सय रुपैयाँ प्रति केजी  तथा चाङ्ग्रा १२ सय देखि १३ सय रुपैयाँ प्रति केजीसम्म मुल्य तय गरेको छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x