अर्थ / बाणिज्य

दुलही अन्माएर पठाएको घर जस्तो भयो सौराहा

इकागज |
मंसिर १६, २०७८ बिहीबार ९:३३ बजे

चितवन- गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ ।
 
 रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । 'सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।' रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उनले भने, 'एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।'
 
यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडा बताउँछन् । मङ्सिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो । त्यसो त मङ्सिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताउँछन् । उनी भन्छन्, 'नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।' महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ ।

पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ । देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै ५० करोड हाराहारी खर्च गरेको र अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको बताए ।


महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ । समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले बताउँछन्।

 युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनले प्रचारात्मक काममा निकै सहयोग पुगेको बताए । एमाले नेता कार्यकर्ता फर्किएसँगै सुनसान बनेको सौराहामा प्रतिनिधिले धेरै घुम्ने मौका यस पटक नपाएका कारण पुनः आउने अपेक्षा गरिएको उनको भनाइ छ । सौराहाको पर्यटकीय महत्वका बारेमा स्वदेश र विदेशमा सन्देश प्रवाह गर्न महाधिवेशन सफल बनेको छ । आगामी दिनमा यसले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा व्यवसायीले राखेका छन् । रासस


Author

थप समाचार
x