अर्थ / बाणिज्य

टिकटकमा आयो पैसा कमाउने अर्को फिचर

इकागज |
मंसिर १९, २०७८ आइतबार १४:० बजे

काठमाडौँ - छोटो भिडियोको लागि लोकप्रिय प्लेटफर्म टिकटकले पैसा कमाउन मिल्ने नयाँ फिचर सुरु गरेको छ । टिकटकमा फलोअर्सले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको हो । यसअन्तर्गत फलोअर्सरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् ।

अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर रहेको छ । यसै सुविधालाई परिष्कृत गर्दै कम्पनीले ‘टिप्स’ फिचर ल्याएको हो । हाल यो फिचर विश्वका केही देशमा उपलब्ध भैसकेको छ । केही समयमै विश्वका सबै देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


फलोअर्स भिडियो लाइभमा बसेकाहरूलाई ५ डलर देखि माथि आफूले चाहेको रकम पठाउन सक्नेछन् । टिकटकले अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी यो फिचर ल्याएको जनाएको छ । कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअर्सहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।  यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नकाटिने जनाएको छ । १८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई यो फिचर उपलब्ध हुनेछ । यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ । 


Author

थप समाचार
x