अर्थ / बाणिज्य

अन्तर-आवद्धता निर्देशिका २०७६ लागू

मोबाइल कल शुल्क ४४ पैसाले घट्यो

इकागज |
माघ २, २०७८ आइतबार १२:४२ बजे

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरणले २०७६ सालमा नै ल्याएको अन्तर-आवद्धता शुल्क लागू गरेको छ । यसअघि पटक-पटक लागू हुन नसकेको यस निर्देशिकालाई हिजो अर्थात माघ १ गतेबाट लागू भएको हो । 

निर्देशिका लागू भएसँगै अब एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवाप्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो भएको छ । यसको अर्थ एउटा नेटवर्कबाट अर्को नेटवर्कमा  (उदाहरणका लागि) एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको हो ।


यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका थिए । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।  तत्कालका लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।

यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्दै आएको थियो । प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले माघ १ बाट अन्तर-आवद्धता निर्देशिका २०७६ लागू भएको जानकारी दिए । 

शनिवारदेखि प्रिपेडबाट प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लागेको छ । त्यस्तै, एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा प्रतिमिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ । यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।

 

 


Author

थप समाचार
x