अर्थ / बाणिज्य

जापानले दियो नेपाललाई १० अर्ब रुपैयाँ ऋण

इकागज |
माघ ११, २०७८ मंगलबार १७:५० बजे

काठमाडौँ– जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ । आर्थिक विस्तार र उत्थानशीलताका लागि प्रदान गरिएको ऋण सहायता सम्बन्धी सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् । 

त्यस्तै परियोजना कार्यान्वयन सम्झौतामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिनिधि अशाकुमा युमिको र अर्थ मन्त्रालय मातहतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । 


नेपालको बजेटमा कार्यक्तममार्फत् आर्थिक विस्तार, अर्थतन्त्रको पुनरुत्थान र उत्थानशीलतामा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघको सहायतामा सहवित्तीयकरणमा खर्च हुनेछ । कोभिड–१९ महामारीले नेपालको विकासका उपलब्धिलाई नराम्ररी प्रभावित पारेको छ । साथै अर्थतन्त्रका सबै क्षेत्रलाई उत्तिकै असर पारेको छ ।

विशेषगरी, सेवा क्षेत्र, पर्यटन, नागरिक उड्ययन तथा आतिथ्यसत्कार (हस्पिट्यालिटी) क्षेत्रमा महामारीको आघात धेरै छ । जापानले महामारीपछि बहुआयमिक सहयोग प्रदान गर्दै आएको छ । खोप, स्वास्थ्य उपकरण, तालिम तथा स्वास्थ्य पूर्वाधारको सशक्तिकरणमा जापानको सहयोग परिचालन भएको राजदूत किकुताले उल्लेख गरेका छन् । 

‘हाम्रो अर्को निर्णय नेपालको विकासको स्थायित्व र कोभिड–१९पछि आर्थिक तथा सामाजिक पुनरुत्थान र उत्थानशीलताका लागि आएको छ,’ राजदूत किकुतालाई उद्धृत गर्दै नेपालस्थित जापानी दूतावासले बताएको छ । 
 


Author

थप समाचार
x