अर्थ / बाणिज्य

युनाइटेड इन्स्योरेन्सको अधिकांश सूचक सुधारोन्मुख

इकागज |
फागुन १, २०७८ आइतबार १७:४५ बजे

काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा र अन्य सूचांकमा सुधार देखिएको हो।

कम्पनीको समिक्षा अवधिमा कार्य सञ्चालन सुचारू रूपले भइरहेको र वित्तीय स्थिति सन्तोषजनक रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/०७९ को दोश्रो त्रैमासिक अवधिसम्ममा गत आ. व. २०७७/०७८ को सोही अवधिको तुलनामा ५३ प्रतिशतले वृद्धि गरेको जनाएको छ । 


कम्पनीले ८८ करोड २१ लाख ५४ हजार रूपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने खुद नाफामा ११८ प्रतिशतले वृद्धि गरि ६ करोड ५८ हजार रूपैयाँ आर्जन गर्न सफल भएको हो । कम्पनीको कूल बीमाशुल्क क्रमिक रूपमा बढ्दै गएको र आगामी दिनहरूमा व्यवसायिक विविधिकरण गरी गुणस्तरीय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरू गरी कम्पनीलाई अझ वित्तीय रूपमा सबल बनाउने योजना रहेको जनाएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रूपैयाँ रहेको जनाएको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा ३८ करोड ४ लाख रूपैयाँ र जगेडा कोषमा १५ करोड ८० लाख रूपैयाँ रकम सञ्चिती रहेको छ।त्यस्तै कम्पनीको प्रति सेयर आम्दानी ५ रूपैयाँ ८४ पैसा, प्रति सेयर नेटवर्थ १ सय ५२ रूपैयाँ ६६ पैसा रहेको छ ।

नेपाली बजारमा रहेका बीमा कम्पनीहरू बीचको प्रतिस्पर्धा, सीमित बजार, प्राकृतिक विपत्ति तथा पूनर्बीमकहरूबाट प्रदान गरिने कमिसन र अन्य सुविधामा कटौतीले गर्दा साथै कोभिड-१९ महामारी र सोको बीमा दाबीले गर्दा आगामी दिनहरू बीमा व्यवसायको लागि चुनौतीपूर्ण रहेको कम्पनीले जनाएको छ । 

संस्थाले आगामी दिनहरूमा प्रर्याप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई सदृढ, सम्भावित क्षेत्रमा शाखा कार्यालयहरूको विस्तार गर्ने, ग्राहकहरूसँग सुमधुर सम्बन्ध कायम राखी छिटो छरितो ग्राहकमुखी सेवाहरूको विस्तार गर्ने योजना बनाएको छ । 

 


Author

थप समाचार
x