अर्थ / बाणिज्य

प्रभु लाइफ र सेञ्‍चुरी कमर्सियल बैंकका लगानीकर्ताले कमाए

सेयर बजार पुनः २,४०० बिन्दूको थ्रेसहोल्ड माथि

इकागज |
माघ १९, २०७७ सोमबार १५:५६ बजे

काठमाडौँः सोमबार सेयर बजार परिसूचक (नेप्से इण्डेक्स) पुनः २,४०० बिन्दू नाघेको छ । साताको पहिलो कारोबार दिन आइतबार सबै समूहका परिसूचकहरू ओरालो लागेपछि नेप्से ५४.७५ अंकले घटेको थियो । सोमबार बजार खुलेको पहिलो आधा घण्टामा बजारमा तीव्र उतारचढाव देखिएको थियो । त्यसपछि बजार सामान्य गतिमा बढ्दै २,४०८.२४ बिन्दूमा पुगेर कारोबार बन्द भयो । आइतबारको तुलनामा नेप्से ३७.७ अंकले बढेको छ । सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचकांक, सेन्सेटीभ इण्डेक्स १.१४ प्रतिशतले बढेर ४३७.२८ बिन्दूमा पुगेको छ । 

सोमबार नेप्सेमा लघुवित्त र म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचकहरू उकालो लागेका छन् । आज होटल समूहको परिसूचक सबैभन्दा उच्च ८.७६ प्रतिशतले बढेर २,१७४.५८ बिन्दूमा पुगेको छ । आइतबार उल्लेख्य घटेको वित्त कम्पनी समूहको परिसूचक आज ३.५९ प्रतिशतले वृद्धि भई १,१४०.८९ बिन्दूमा पुगेको छ । त्यस्तै नेपाल टेलिकमको समेत सेयर सूचीकृत भएको अन्य समूह, विकास बैंक समूह र जीवन बिमा समूहका परिसूचकहरू पनि २ प्रतिशतभन्दा माथिले उकालो लागेका छन् । 


आइतबार सेञ्चुरी बैंकको सबैभन्दा ठूलो परिमाणमा ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर किनबेच भएको थियो । त्यसको प्रभाव बैंकको सेयर मूल्यमा  सोमबारदेखि नै  देखिन थालेको छ ।

सोमबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको सेयरमा सर्किट ब्रेक लागेको छ । आइतबार सेञ्चुरी बैंकको सबैभन्दा ठूलो परिमाणमा ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर किनबेच भएको थियो । त्यसको प्रभाव बैंकको सेयर मूल्यमा  सोमबारदेखि नै देखिन थालेको छ । सेञ्चुरी बैंकको सेयर मूल्य सोमबार प्रतिकित्ता २३ रुपैयाँले बढेर २५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १६५ रुपैयाँ प्रतिकित्ता पुगेको छ । 

त्यस्तै पोखरा फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्यारेन्स, माउन्टेन इनर्जी लिमिटेड, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल, बेस्ट फाइनान्स कम्पनी, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । 

आइतबार पनि सबैभन्दा बढी कमानउनेमा प्रभु लाइफ इन्स्यारेन्सका लगानीकर्ता थिए । सोमबार प्रभु लाइफ इन्स्यारेन्सको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ८४० रुपैयाँ पुगेको छ । 

सोमबार नेप्सेमा २०३ कम्पनीका एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर ६५ हजार सात सय ७८ कारोबारमार्फत् ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँमा किनबेच भएका छन् । सोमबारसम्म सेयर बजार पुँजीकरण ३२ खर्ब ४३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । सेयर बजारको विद्यमान प्रवृत्ति हेर्दा बजार पुँजीकरण चाँडै कुल गार्हस्थ उत्पादनकै आकारमा पुग्ने विश्लेषकहरूले बताएका छन् । 


Author

थप समाचार
x