अर्थ / बाणिज्य

एडीबी भेञ्‍चरले दियो प्रदुषणरहित इँटा उत्पादनलाई अनुदान

इकागज |
कात्तिक १४, २०७७ शुक्रबार १८:४० बजे

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) अन्तर्गतको भेञ्‍चर क्यापिटल, एडीबी भेञ्‍चरले नेपालमा प्रदुषणरहित पध्दति अबलम्बन गरी सफा इँटा उत्पादन गर्न सवा लाख अमेरिकी डलर अनुदान दिएको छ । यो अनुदान आगोमा नपोलेर नै मजबुत र वातावरणमैत्री इटा निर्माणमा प्रयोग गरिनेछ । 

वातावरण र स्वास्थ्यमा गम्भीर असर पार्ने भट्टामा इँटा पोल्ने स्थानीय प्रचलनलाई नयाँ प्रविधिबाट क्रमशः प्रतिस्थापन गर्दै लैजाने उद्देश्य अनुरुप सहयोग प्रदान गरिएको एडीबी भेञ्‍चरले उल्लेख गरेको छ । यो अनुदानले नेपालमा स्वच्छ इँटा उत्पादनमा एडीबी भेञ्‍चरले भविष्यमा इक्‍वीटी लगानी गर्ने विकल्प खुला गरेको छ ।
 
विश्‍वभरको इटा उत्पादनमध्ये चौथाई दक्षिण एसियामा उत्पादन हुन्छ । तीव्र सहरीकरणले घर तथा यातायात पूर्वाधारका लागि इँटाको माग उच्च वृध्दि भइरहेको छ । नेपालमा परम्परागत इँटा उत्पादनमा १ हजार ६ सय इँटाभट्टाले दैनिक १० लाख टन कोइला जलाउँछन् । यसले वार्षिक ६ सय मृत्यु र स्वास्थ्य उपचारमा ४ करोड ६० लाख अमेरिकी डलर खर्च हुने गरेको अनुमान छ ।
 
‘गुड ब्रिक सिस्टम’ इनोसीएसआर कम्पनी लिमिटेडको उत्पादन हो । यसले कोरियामा विकास भएको प्रविधि प्रयोग गरी उच्च गुणस्तरको इँटा निर्माण गर्छ । माटो, सिमेन्ट र माटोलाई कसिलो राख्‍ने सामग्री प्रयोग मार्फत् उत्पादन समय ६ गुणाले घटाउँछ । पुरातन पध्दतिको तुलनामा कम लागतमा धेरै इँटा उत्पादन गर्न सकिने भएकाले लागत प्रतिस्पर्धी हुने बताइएको छ । यसले कार्बन उत्सर्जन कम गर्छ र कामदारको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नबाट जोगाउँछ । इँटाभट्टामा काम गर्ने धेरैजसो महिला कामदार छन् ।
 
‘गुड ब्रिक सिस्टम’ले नेपालमा वर्षौंदेखि प्रचलित इटा उत्पादनको अभ्यासलाई परिवर्तन गर्नेछ । परम्परागत इँटा उत्पादन प्रणालीले स्वास्थ्य र वातावरणमा ठूलो असर पारेको छ,’ एडीबीका मुख्य लगानी विशेषज्ञ डोमिनिक मेलोरलाई उद्धृत गर्दै एडीबीले भनेको छ, ‘दक्षिण एसियामा यातायात पूर्वाधार र सहरी विकासका परियोजनामा ‘गुड ब्रिक सिस्टम’ प्रयोगमा ल्याउन सकिन्छ ।’


एडीबी भेञ्‍चरको यो सहयोगले इँटा उत्पादनलाई फोहोर उद्योगबाट रुपान्तरण गर्दै व्यासायिक उत्पादन विस्तारका लागि मार्ग प्रशस्त गर्ने इनोसीएसआर ग्रुपका प्रमुख कार्यकारी अधिकृत यून्सुक लीले बताए ।
 
एडीबी भेञ्‍चरले एसिया-प्रशान्त क्षेत्रमा प्रारम्भिक चरणका प्रविधि कम्पनीहरुमा लगानी र सहयोगमार्फत् विकासका ठूला समस्या समाधान गर्दै आएको छ । यसमा फिनल्याण्डको विदेश मन्त्रालय, कोरियाली सरकार, क्लीन टेक्नोलोजी फण्ड र नर्डिक डेभलपमेन्ट फण्ड रहेका छन् ।
 


Author

थप समाचार
x