अर्थ / बाणिज्य

दूध किसानले किने हेलिकोप्टर, खेतमा बनाए हेलिप्याड

इकागज |
फागुन ६, २०७७ बिहीबार १३:२८ बजे

काठमाडौं : किसान भन्‍ने बित्तिकै धेरैलाई 'कृषि उपजको मुनासिब मुल्य र बजार नपाउने' दु:खी गरिब किसानको झल्को आउँछ । तर, भारतको महाराष्ट्रको भिवन्डी गाउँका एक कृषकले हेलिकोप्टर खरिद गरेका छन् ।

भिवन्डीका किसान जनार्दन भोइरले दूधको बजार पन्जाब, गुजरात, हरियाणा, राजस्‍थान र भारतका अन्य पूर्वी राज्यमा समेत रहेकाले हेलिकोप्टरको आवश्यकता परेको बताए । ती सबै स्थानमा हवाइजहाजबाट ओहोरदोहोर गर्ने सुविधा नभएकाले समय खेर जाने गरेको उनको भनाइ छ । यस्तोमा समय बचाउन उनले आफ्‍ना मित्रको सल्‍लाहमा हेलिकोप्टर खरिद गरेका हुन् ।


जनार्दन भोइरले यो हेलिकोप्टर ३० करोड भारतीय रुपैयाँमा खरिद गरेका हुन् । अहिले उनले हेलिकोप्टरको परीक्षण गरिरहेका छन् । भारतीय सञ्‍चारमाध्यमअनुसार जनार्दनसँग अहिले करीब १ अर्ब भारतीय रुपैयाँ भन्दा अधिक सम्पत्ति छ । दूधसँगै उनी घरजग्‍गा कारोबारी समेत हुन् ।

जनार्दन एक किसान हुन् । उनले हेलिकोप्टरका लागि हेलीप्याडड आफ्नै खेतमा बनाएका छन् । हेलिकोप्टरको हेलीप्याड निर्माणका लागि खुल्‍ला जमिनको आवश्यकता पर्छ । खेत जत्तिको उपयुक्त जग्गा अरु नहुने उनी बताउँछन् । त्यति मात्र होइन, उनले पाइलट रूम, टेक्नीसियन रूम पनि बनाउने तयारी गरेका छन् । १५ मार्चमा उनले हेलिकोप्टर प्राप्त गर्नेछन् । जनार्दनका अनुसार उनीसँग करीब २.५ एकड जग्गा छ, जसमा हेलिकोप्टरको राउन्ड पट्टी समेत निर्माण भइरहेको छ ।

जनार्दनसँग ठुला-ठुला गोदामहरू छन् । जसलाई उनले भाडामा लगाएका छन् । ठुला-ठुला कम्पनीहरूले दिने भाडाबाट ठुलो आम्दानी हुने गरेको छ । हेलिकोप्टर सञ्‍चालनका लागि दैनिक एक लाख भारु खर्च लाग्छ । हेलिकोप्टरलाई मात्र नभइ पाइलटको तलब, प्राविधिकको तलब र मेन्टेनेन्स खर्च समेत हुन्छ ।


Author

थप समाचार
x