अर्थ / बाणिज्य

नेपाली घ्यू जापानमा लोकप्रिय

इकागज |
फागुन ११, २०७७ मंगलबार १५:२३ बजे

फाइल तस्बिर

काठमाडौँ  :  सरकारको स्वामित्वमा सञ्‍चालित  हैटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित  घ्यू  जापानमा निर्यात हुन थालेपछि माग बढेको छ । आयोजनाका प्रमुख  नरेश जोशीका अनुसार  गत वैशाखदेखि माघ महिनासम्ममा ५१ हजार लिटर  घ्यू निर्यात भएको थियो । उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको  र एक पटकमा सात-आठ हजार  लिटर   घ्यू निर्यात  हुने गरेको छ । अहिलेसम्म सात पटक  घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक  ५००  लिटर   घ्यू उत्पादन हुने गर्छ । 

हेटौँडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३० को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो ।  आयोजनाबाट दैनिक २५ हजार लिटर  दुग्ध  मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट  जिल्लामा  सङ्कलन भइरहेको छ । ती मध्ये प्रशोधित  ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले  दैनिक ६ हजार कृषक घरपरिवारबाट  दुग्ध खरीद गरी उनीहरुलाई मासिक तीन करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म भूक्तानी गर्दै आएको छ । 


बेमौसममा तीन करोड रुपैयाँ र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता  प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित  क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ  उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित  उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ ।  आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश : चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा  रहेको छ । मकवानपुरलगायत अन्य जिल्लाको  दुग्ध  उत्पादक सहकारी संस्थाबाटसमेत  दुग्ध सङ्कलन  हुने गरेको  आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भने, ‘आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी  बढी भएको  दूध  बालाजुलगायत  अन्य आयोजनामा पठाउने गरेको छ ।’
 
आयोजनाको ६० हजार  लिटर  दूध भण्डारण  क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर  उत्पादन क्षमताप्रति दिन ५०० केजी  , फेसमिल्क ,एक हजार ५०० बोतल  प्रति सिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट  प्रतिदिन उत्पादन  हुने गरेको  उनले जानकारी दिए ।  बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७  बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।   रासस 


Author

थप समाचार
x