अर्थ / बाणिज्य

पुँजीगत लाभ लिएपछि बिक्री गर्नेको लर्को, सेयर बजार राताम्मे

इकागज |
फागुन १३, २०७७ बिहीबार १५:५८ बजे

काठमाडौं : ऐतिहासिक उचाइ कायम गरेको सेयर बजार सुचक नेप्से ओरालो लागिरहेको छ । ठूलो संख्यामा कम्पनीहरूले बोनस सेयर वितरण गरेपछि पुँजीगत लाभ लिएर सेयर बिक्री गर्नेको लर्को छ । जसकारण सेयर बजार क्रमश: घटिरहेको हो ।

बोनस सेयर वितरणपछि सेयरको भाउमा समायोजन हुने भएकाले बोनस सेयर पाउनुभन्दा पहिले सेयर बेच्ने गरेको पनि देखिन्छ । कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर वितरण गर्दा कम्पनीको पुँजी बढ्छ । पुँजी बढेपछि कम्पनीहरूले पुँजी बढेको अनुपातमा नाफा पनि बढाउनुपर्ने हुन्छ । पुँजी बढेको अनुपातमा नाफा बढाउन सकेन भने कम्पनीको प्रतिसेयर आम्दानीमा असर पर्छ र प्रतिसेयर आम्दानी घट्छ ।

बिहीबार ४४.९४ अंकले घटेर नेप्से २५५४.१३ बिन्दूमा पुगेको छ । शुक्रबारको तुलनामा १ दशमलव ७३ प्रतिशतले घटेको हो । कुनै पनि कम्पनीले समीक्षा अवधिको मुनाफाबाट बोनस सेयर वा नगद लाभांश दिने गर्छ । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गरेपछि बैंक तथा वित्तीय संसथाहरूलेहरूले यसपाली बोनस सेयर बाँडेका छन् ।  आमलगानीकर्ताको बोनस सेयरप्रति बढी आकर्षण छ । तर, बोनस सेयर वितरण गर्दा लगानीकर्ताहरूले बोनस सेयर पाएर बुकक्लोज भएपछि दोस्रो बजारमा सेयरको मूल्य समायोजन गर्ने गरिन्छ । बोनस सेयर पाएपछि सोही अनुसार सेयर मूल्य समायोजन भएपछि सेयर मूल्य घट्ने हुन्छ । यसमा सेयरधनीहरूले लेखाजोखा गरेको भने त्यति देखिँदैन ।


विगतका वर्षहरूमा बढी मात्रामा नगद लाभांश घोषणा हुने कम्पनीका सेयर लाभांश वितरण अघि नै बिक्री हुने गरेको थियो । यसपाली अधिकांश कम्पनीले बोनस सेयर वितरण गरेपछि सेयर बजारमा पुँजीगत लाभ लिन लगानीकर्ताहरू ओइरिएका थिए ।

सबै समूह राताम्‍मे

कारोबारमा आएका सबै समूहको परिसुचक घटेका छन् । सबैभन्दा बढी फाइनान्स र बैंकिङ समूहका परिसुचक घटेका छन् । फाइनान्स समूहमा २ दशमलव १७ प्रतिशतले गिरावट आएको छ भने बैंकिङ समूहमा झन्डै २ प्रतिशतकव गिरावट छ ।

सबैभन्दा बढी सेयर मुल्य घट्नेमा सनराइज म्युचुअल फन्ड छ । दोस्रोमा श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मुल्य घटेको छ । चन्द्रागिरी हिल्सको सेयर मुल्य ९ दशमलव ९१ प्रतिशतले बढेको थियो ।

कारोबार ६ अर्ब मात्रै

कारोबार रकम ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँ पुगेको छ । १० अर्बसम्म कारोबार पुगेको सेयर बजारमा ६ अर्बको कारोबार हुनुलाई निकै कम मानिएको छ । ८३ हजार ४ सय ७ पटकको कारोबारमा १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता सेयर किनबेच भएको छ ।

यसबीच सबैभन्‍दा बढी निफ्राको सेयर किनबेच भएको छ । ९० करोड ३५ लाख ६७ हजार ५ सय ७७ रुपैयाँ बराबर किनबेच भएको छ । नबिल बैंक, नेशनल हाइड्रोपावर कम्पनी र नेपाल बैंकको २१-२१ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । एनआइशी एसिया बैंकको सेयर कारोबार २० करोड रुपैयाँ बराबर पुगेको छ ।  यससँगै सेयर बजारको पुँजीकरण ३५ खर्ब १९ अर्ब पुगेको छ ।


Author

थप समाचार
x