अर्थ / बाणिज्य

बैंकको तरलता घटेसँगै सेयर बजारमा निरन्तर ओरालो

५१ अंकले घट्यो नेप्से, ४ अर्ब ९५ करोड कारोबार

इकागज |
चैत १, २०७७ आइतबार १५:५५ बजे

काठमाडौं : बैंकको तरलता घट्न थालेपछि सेयर बजार निरन्तर ओरालो लाग्न थालेको छ । घट्दोक्रममा रहेको सेयर बजार – नेप्से परिसूचक आइतबार ५१ दशमलव २३ अंकले घटेको छ । २ दशमलव ०८ प्रतिशतले घटेर नेप्से २४०७ दशमलव २५ बिन्दुमा पुगेको हो ।

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा ३४ अर्ब रुपैयाँ अधिक तरलता छ । राष्ट्र बैंकले बजारबाट करिब साढे ९ अर्ब रुपैयाँ तानेको छ । अहिले करिब साढे ४३ अर्ब रुपैयाँ अधिक तरलता छ । कोभिड-१९ रोकथामका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि बैंकको तरलता थुप्रिएर २ खर्बको हाराहारीमा समेत पुगेको थियो ।


अहिले सरकारले विभिन्‍न चरणमा कोभिडविरुद्धको खोप लगाइरहेको अवस्थामा आर्थिक गतिविधी चलयमान भइरहेको छ । लगानीका अन्य क्षेत्रहरू सुचारु हुने अपेक्षामा लगानीकर्ताहरू सेयर बजारको लगानी रकम अन्य क्षेत्रमा लगाइरहेको हुन सक्ने आकलन गरिएको छ ।

सरकारले कोभिड रोकथामका लागि लकडाउन जारी गरेपछि आर्थिक क्रियाकलाप खुम्चिएको थियो । जसकारण लगानीका अधिकांश क्षेत्रहरू प्रभावित भएका थिए । अन्य क्षेत्रमा लगानीको जोखिम बढेपछि लगानीकर्ताहरू सेयर बजारमा आकर्षित भए । बैंकले समेत सेयरमा लगानी गर्नलाई प्रोत्साहन गर्‍यो । जसले सेयर बजारलाई कीर्तिमानी उचाइसम्म पुर्‍याएको थियो ।

मुलुकमा कोभिडविरुद्ध खोप लगाउने क्रम सुरु भएसँगै आर्थिक गतिविधी चलायमान हुन थालेको छ । यसले अन्य क्षेत्रमा पनि कर्जाको माग बढेको छ । अन्य क्षेत्रमा कर्जाको माग कम हुँदा लगानीकर्ता सेयर बजारमा झुम्मिएका थिए । 

बैंकको ब्याजदरसँग सेयर बजारको विशेष सम्बन्ध हुन्छ । बैंकको तरलतालाई सेयर बजारमा उपयोग गर्ने केन्द्रिय बैंकको नीतिले नेप्सेलाई नयाँ उचाइमा पुर्‍याएको थियो । अधिक तरलतामा कमी हुन थालेपछि वित्तीय प्रणालीमा ब्याजदर वृद्धिको चर्चा चल्न थालेको छ ।  चैत मसान्तमा बैंकहरूले सार्वजनिक गर्ने नयाँ ब्याजदरमा बढेर आउने अनुमान गरेका लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सेयर धमाधम बिक्री गरिरहेको अनुमान छ ।

फागुन मसान्तसम्म विभिन्न संघ संस्थाहरूको साधारणसभाले बोनस सेयर वितरण गरेपछि पुँजीगत लाभ लिएर छोड्नेहरू जमात बढेकाले पनि सेयर बजार घटेको हुनसक्ने बुझिएको छ ।

आइतबारको कारोबारमा होटल र जलविद्युत समूह बाहेक सबै समूहका कम्पनीको सेयर मुल्यमा पहिरो गएको छ । सीमित होटलहरू सूचीकृत भएको होटल समूहमा ठुलो उछाल आएको छ । त्यसबाहेक जलविद्युत् समूहमा २ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

माथिल्‍लो तामाकोशी आयोजना निर्माण अन्तिम चरणमा पुगेको समाचार आइरहँदा यसको सेयर मूल्यले गति लिएको हो । ९ दशमलव ८५ प्रतिशतको सर्वाधिक वृद्धिसँगै अपरको सेयर मूल्य ६४७ रुपैयाँ प्रति कित्ता पुगेको छ ।

चन्द्रागिरी हिल्स, पञ्‍चकन्यामाई हाइड्रो, घलेम्दी र रैराङ जलविद्युत् कम्पनीको सेयर मूल्यमा उच्‍च वृद्धि भएको छ ।

सेयर बजारमा गिरावट आएसँगै कारोबारमा समेत कमी आएको छ । आइतबारमा चार अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ  ।

६० हजार ९७३ पटकको कारोबारमा ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार अपर तामाकोशीको भएको छ । ४४ करोड ५६ लाख १५ हजार ७ सय १३ रुपैयाँ बराबर यसको किनबेच भएको छ ।

दोस्रो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । २७ करोड ५६ लाख रुपैयाँ बराबर यसको सेयर किनबेच भएको छ ।   


Author

थप समाचार
x