अर्थ / बाणिज्य

उपभोग्य वस्तुको मूल्य आकाशिदैं

कमल धिताल |
फागुन २५, २०७८ बुधबार १४:२ बजे

काठमाडौँ - पछिल्लो समय दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । भान्सामा दैनिक प्रयोग हुने नुन, तेलदेखि यातायातमा प्रयोग हुने पेट्रोलियम पदार्थको भाउमा अत्याधिक मूल्यवृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि तथा भारतीय आयल निगम इन्धनको नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले केही दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।


पछिल्लो समायोजनसँगै एक लिटर पेट्रोल खरिद गर्नका लागि सर्वसाधारणले १५० रुपैयाँ खर्च गर्नुपर्ने भएको छ भने डिजल र मट्टितेलको भाउ प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा कच्चा तेलको मूल्य झन् उकालो लाग्दै गरेको अवस्थामा पेट्रोलियम पदार्थको भाउ अझै बढ्ने देखिन्छ ।

पेट्रोलियम पदार्थको भाउ बढेपछि यसले समग्र बजारलाई असर गर्ने गरेको छ । नेपाली बजारमा एक पटक कुनै वस्तुको भाउ बढेपछि पुन: घट्ने सम्भावना अत्यन्त कम हुने भएकाले न्यून आय हुनेहरूलाई निकै समस्या हुने गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा तथा राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशतभन्दा तल राख्ने लक्ष्य लिएको मुद्रास्फीति पाँचौं महिनामा ७.११ प्रतिशत तथा छैटौं महिनामा ५.६५ प्रतिशत रहेको थियो । सो प्रतिवेदन अनुसार मुद्रास्फीतिमा खाद्य तथा पेय पदार्थमा ४.९२ प्रतिशत तथा गैर खाद्यमा लगायतमा ६.२३ प्रतिशत मूल्यवृद्धि रहेको देखिन्छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ भने रुसबाट २ अर्ब ५८ करोड ७५ लाख मूल्य बराबरको कच्चा तेल आयात भएको छ ।

दैनिक रूपमा भान्सामा प्रयोग हुने तरकारीमा पछिल्लो समय उच्च मूल्यवृद्धि भएको छ । काठमाडौँ प्रमुख तरकारी बजार कालीमाटी बल्खु लगायतका स्थानबाट बिक्री हुने तरकारीमा उच्च मूल्य वृद्धि भएको छ । कालीमाटी बाहेक अन्य तरकारी बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको छ । सिजनल (मौसमी) तरकारीको मूल्यमा समेत मूल्यवृद्धि हुँदा न्यून आय भएका उपभोक्ता मारमा परेका छन् । भिण्डी हाल प्रतिकेजी १२० देखि १३० सम्म कालीमाटी तरकारी बजारबाट बिक्री भैरेहेका छन् । यहीँ तरकारी अन्य बजारमा पुग्दा २ सय भन्दा बढी पुग्ने गरेको छ ।

कुखुराको मासुमा समेत अत्याधिक मूल्य वृद्धि भएको छ । हाल बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि व्यवसायीले कुखुराको मासु किलोकै ४ सय माथि पुर्‍याएका छन् ।

भर्खरैमात्र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ। चिनीको मूल्यमा समेत उच्च मूल्य वृद्धि भएको छ । हाल चिनी ९५ देखि १०० रूपैयाँ प्रतिकिलोमा बिक्री भैरहेका छन् ।

भान्सामा प्रयोग हुने तेलमा समेत लिटरमा ३० देखि ३५ रूपैयाँसम्म मूल्य बढेको व्यापारीहरू बताउँछन् । खुद्रा व्यापारीहरूले गाडी भाडा लगायतका कारणले थोक व्यापारीहरूले मूल्य बढाउँदा आफूहरूले पनि बढाउन बाध्य भएको बताउँछन् ।

युक्रेन युद्धको बहानामा कालोबजारी

कतिपय व्यापारीले रूस तथा युक्रेन युद्धको असर देखाएर कालो बजारी सुरु गरेका छन् । रूस युक्रेन युद्ध भएलगत्तै नेपालमा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरि मूल्य वृद्धि सुरु गरेका छन् । सबैभन्दा बढी खाने तेलमा मूल्यवृद्धि भएको छ । एक हप्ता अघि थोक बजारमा २४ सय ५० पर्ने फेमिली ब्राण्डको तोरीको तेल एक कार्टुन (१० प्याकेट) हाल मूल्य बढाएर २७ सय पुगेको छ । युक्रेन-रूस युद्ध सुरुवातबाटै खाध्यान्न तेल जस्ता कुरामा १० प्रतिशत मूल्य वृद्धि भएको छ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर सरकारले घोषणा गरेको स्थानीय चुनावको कारण केही व्यापारीहरूले मूल्य उच्च गराएको बताउँछन् । युक्रेन-रूस युद्धको असर देखाएर व्यापारीहरूले मूल्यवृद्धि गरेको बताउँछन् । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य विभागले पनि खुद्रा व्यापारीहरूलाई मात्र अनुगमन गर्ने गर्दा यसले बजारमा व्यप्त महँगी नियन्त्रण नहुने तुलाधर बताउँछन् । सरकारबाट अनुगमन गर्ने हो भने मूल्यवृद्धि धेरैहदसम्म नियन्त्रण हुने उनको भनाइ छ ।

केही दिनअघिसम्म २४० मा बिक्री गरेको १ लिटर सनफ्लाओर तेल हाल २८० भन्दा माथी पुगेको छ । हामीले सोध्दा बाहिरबाट आउने कच्चा पदार्थ बढेर आएको हुँदा मूल्य बढेको भन्ने जवाफ आउने गरेको तुलाधर बताउँछन् । पहिला एक कार्टुन तेल माग्दा ५ कार्टुन दिने थोक विक्रेताले हाल ५ माग्दा बल्ल बल्ल १ कार्टुन तेल दिने गरेका छन् । यसरी युद्धको केही दिनमै यस्तो स्थिति छ पछि के स्थिति होला उनले भने ।

कतिपय माथिका व्यापारीहरूले बिल बीजक समेत नदिने गरेको तुलाधर बताउँछन् । बिल माग्दा नदिने गरेका व्यापारीहरूको प्रमाण लिएर वाणिज्य पुग्दा समेत कारबाही नभएको तुलाधर बताउँछन्। त्यहाँबाट नदिए अर्को ठाउँबाट लिनुहोस् भन्ने जवाफ पाएको उनको भनाइ रहेको छ । वाणिज्य विभागले मुहानबाटै अनुगमन गर्ने हो भने तल आफैं पानी सफा हुने उनको भनाइ छ ।

त्यस्तै खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्य माथिका व्यापारीहरूले आफूखसी भाउ बढाउने गरेको र सरकारले यसमा ध्यान नदिएको बताउँछन् । सरकारले नियमन नगर्दा नै व्यापारीले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गरेको हुँदा यसलाई तुरुन्त नियन्त्रण गर्नुपर्ने बज्राचार्य बताउँछन् ।

उता नेपाल थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ भने रूस-युक्रेन युद्ध देखाएर तेलको मूल्य केही बढेको हो तर अन्य खाद्यन्नमा भने मूल्य नबढेको तर्क गर्छन् । पेट्रोलियम पदार्थको मूल्यबढ्दा ढुवानी भाडा बढेको होला तर अरूमा भने बढेको छैन् ।

नेपाल चामल,तेल,दाल उत्पादक संघ अध्यक्ष सुबोधकुमार गुप्ता अन्य खाद्यन्न मूल्य नबढेपनि सनफ्लावोरको कच्चा पदार्थ, गहुँ लगायतका वस्तु युक्रेनबाट आउने हुँदा यसले मूल्य केही बढेको बताउँछन् । नेपाल राष्ट्र बैंकले आयातमा एक सय प्रतिशतसम्म मार्जिनको व्यवस्था गरेपछि आयातमा कमी आएको हुँदा पनि मूल्य केही बढेको बताउँछ।

उता वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भने बजारमा मूल्य बढेको भन्ने कुरा अस्वीकार गर्छ । 'हामीले घ्यू तेल उत्पादक संघलाई मूल्य नबढाउन आग्रह गरिसकेको छौं उहाँहरूसँग भोली वार्ता हुँदैछ ।' विभागका प्रवक्ता हरि पंगेनी भने ।

बजारमा हल्लै हल्लाले तेलको मूल्य बढ्यो भनेर आएको हो हालसम्म बढेको छैन्। डिलर पसलले कहीँ मूल्य बढाए विभागले उपभोक्ता संरक्षण ऐन नियमावली अनुसार कारबाही गर्ने पंगेनी बताउँछन् । 'हामीले सूक्ष्म रूपमा बजार अनुगमन गर्दै छौँ । यदी कसैले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाएको पाइए कसुर बमोजिम कारबाही हुन्छ' उनले भने ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x