अर्थ / बाणिज्य

भैरहवा सेजको १०२ रोपनी जग्गा खाली गर्ने तयारी

पवन तिमिल्सिना |
चैत ४, २०७७ बुधबार ७:४५ बजे

काठमाडौँः सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा झन्डै १०२ रोपनी जग्गा ओगटेर बसेका उद्योगीहरूको अनुमतिपत्र खारेज गर्ने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले ९ उद्योगीहरूको अनुमतिपत्र रद्द गर्ने भएको हो । 

उनीहरूले कुल क्षेत्रफलको ४७ प्रतिशत जग्गा ओगटेर बसेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार ७९ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए  । तर, कतिपय उद्योगीहरूले अनुमति लिएपछि लथालिंग छोडेका छन् भने कतिले सम्झौता समेत गरेका छैनन् ।


एस प्लास्टिक प्रडक्ट्स, निर इन्डष्ट्री प्राली, जय बुद्ध मेटल क्राफ्ट, आइडिएस इलेक्ट्रिक, क्रियसन्स वर्ल्डवाइड, अरिबा एग्रिकल्चर, नेसनल अर्गानिक्स, अरिहन्त एग्रो–प्रोसेसिङ र कुराकानी अनलाइनको अनुमतिपत्र रद्द गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।

उद्योगीहरूले ७९ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । 

ती उद्योगीहरूलाई करिब एक महिनाअघि प्राधिकरणले स्पष्टिकरण सोधेको थियो । तर, हालसम्म दुई उद्योगीले मात्रै स्पष्टिकरण दिएको प्राधिकरणका ईञ्जिनियर माधवेन्द्र चौधरीले जानकारी दिए । 

एस प्लास्टिक प्रडक्ट्सले कोभिड–१९ का कारण उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै स्पष्टीकरण पेश गरेको छ । मंगलबार स्पष्टीकरण पठाएको एस प्लास्टिकले आफूले ७५ प्रतिशत निर्माणको काम सम्पन्न गरिसकेको बताएको छ । ’यो निवेदनसहित आउँदो असार महिनासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने र तिर्नुपर्ने भाडा रकम पनि छिटोभन्दा छिटो बुझाउने,’ उसले भनेको छ, ’र नयाँ आर्थिक वर्षबाट उद्योग सञ्चालन गर्ने जानकारी गराउँछौं ।’

 तीन वर्षदेखि उद्योग सञ्चालन नगरी ५१ हजार ९ सय ७ वर्ग मिटर (करिब १०२ रोपनी) जग्गा ओगटेर बसेका ९ उद्योगीको अनुमति पत्र रद्द गर्ने निष्कर्षमा विशेष आर्थिक क्षेत्र प्राधिकरण पुगेको छ । 

उद्योगी सरोज कँडेलले २०७५ जेठ २८ मा भैरहवा सेजसँग उद्योग सञ्चालना लागि अनुमति लिएका थिए । उनले दुई रोपनी १४ आना जग्गा प्लास्टिक जन्य वस्तु उत्पादनका लागि अनुमति लिएका थिए । यो उद्योगमा उनले तीन करोड लगानी गर्ने बताएका थिए । 

सञ्चालनमा आएकामध्ये शक्ति मिनरल्स प्रालिले थप प्लट उपभोग गर्नका लागि मागेको थियो । प्राधिकरणले उसलाई अनुमति समेत दिएको थियो । तर, समयमा जग्गाको उपभोग नगरेपछि उसलाई सपष्टिकरण सोधिएको थियो । शक्ति मिनरल्सले आफ्नो स्पष्टिकरण बुझाइसकेको छ । 

सेजमा ६० प्रतिशत निर्यात गर्ने शर्तमा उद्योग सञ्चालन गर्न अनुमति दिने गरेको प्राधिकरणका उपसचिव लवराज जोशीले बताए । उनले भने, ’निर्यात गर्ने शर्तमा १७ उद्योगलाई अनुमति दिइएको छ ।’

प्राधिकरणका अनुसार सञ्चालनमा चार उद्योग मात्रै सञ्चालनमा आएका छन्  । त्यसबाहेकका उद्योगीहरूले निर्माण कार्य गरिरहेका छन् । 

अनुमति लिएका उद्योगहरूले २२० रोपनी १४ आना जग्गा ओगटेका छन् । १७ उद्योगहरूले सेजमा दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६ सय २६ रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरेका छन् । सबै उद्योग सञ्चालनमा आएमा एक हजार ३ सय ८८ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । 

भैरहवा सेज अन्तर्गत ६८ प्लटहरू छन् । जसमा ४८ प्लट भाडामा लगाइएको छ । २० प्लटहरू अझै भाडामा लगाउन बाँकी रहेको उल्लेख छ ।   
 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x